अर्घाखाँचीमा जबर्जस्ती करणी प्रकरणका पीडित महिलाद्दारा कुनै पनि समय प्रहरी प्रशासनबाट आक्रमण हुने भन्दै आवाज उठाइदिन आग्रह, घटना स्वीकार दवाब

पीडितले जवर्रजस्ती करणी नपरेको दावी गरेता पनि थुनामा रहेका प्रेम खड्का
मुक्तिनाथ भुसाल
सन्धिखर्क,  अर्घाखाँची । कथित ‘जबर्जस्ती करणी’सम्बन्धी एक मामलासँग सम्बन्धित महिलाले आफूलाई कुनै पनि समय प्रहरी प्रशासनबाट आक्रमण हुन सक्ने सम्भावना बढेको भन्दै यसबारे मिडियाले आवाज उठाइदिन आग्रह गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जबर्जस्ती करणी मुद्धा पीडित महिलाबाट जाहेर भएको भनिए पनि सम्बन्धित महिलाले आफूलाई प्रहरीले जबर्जस्ती झुठो कागजमा हस्ताक्षर गराएको र आफूमाथि जबर्जस्ती करणी भएको भन्ने कुरा झुठो भएको स्पष्ट पार्दै आएकी छिन् । ज्ञातव्य छ, ‘केआरजी’ (नाम परिवर्तन) लाई स्थानीय प्रेमबहादुर खड्काले जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्ला अदालतबाट म्याद थप लिई हालसम्म नियन्त्रणमा राखेको छ ।
पीडित महिलाले टेलिफोनमार्फत जानकारी दिएअनुसार प्रहरीले आफ्ना परिवार तथा नाता–कुटुम्बलाई फोन गरेर आफ्नो चरित्र हत्या गरिदिनुका साथै कथित घटना स्वीकार नगरे जे पनि हुन सक्ने भनी धम्क्याइएको छ । ‘अर्घाखाँची प्रहरी मलाई किन जबर्जस्ती बलात्कारमा परेको भनी स्वीकार गराउन चाहिरहेको छ, यो पटक्कै बुझ्न सकिएन । मलाई हतियार बनाएर प्रहरीले कसैलाई बलिको बोको बनाउन खोजेको हो भने यसमा मेरो सहमति हुने कुरै भएन । प्रहरीले गरेको यो ज्यादतिको भण्डाफोर हुनुपर्छ’, उनको भनाई छ ।
यस प्रकरणलाई लिएर अन्तरपाटी महिला सन्जाल नामक एक संस्थाले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बलात्कारमा परेकी महिलाले स्वस्फूर्त रूपमा उजुरी दिए पनि ‘निहीत स्वार्थ बोकेका मानिसहरूले प्रलोभन र दबाबमा पारेर पीडितलाई बयान फेर्न लगाएको’ दाबी गरेको छ । सञ्जालका सचिव सुशीला गैरे र अध्यक्ष छमकुमारी खनालद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमार्फत् प्रेमबहादुर खड्काले धेरै महिलालाई आर्थिक एवम् शारीरिक शोषण गरी परिवार नै छिन्नभिन्न तुल्याएको आरोप लगाउँदै यस प्रकरणमा भ्रामक सूचना सम्प्रेषण गर्ने मिडियामाथि कारवाहीको माग समेत गरिएको छ । तर, सञ्जालसम्बद्ध महिलाहरूसँग छलफल नै नगरी छमकुमारीद्वारा विज्ञप्ति प्रकाशित गरिएको स्थानीय सचेत तप्काको बुझाई छ । ‘केआरजी’लाई जबर्जस्ती बेश्या सावित गरी प्रेम खड्कालाई फसाउने प्रयत्न भइरहेको उनीहरूको दाबी छ ।
रोचक त के छ भने, सोही सञ्जालको उपाध्यक्षसमेत रहेकी नेपाल महिला संघ अर्घाखाँचीको अध्यक्ष शान्ता भन्डारीले एक अलग वक्तव्य प्रकाशित गर्दै छमकुमारीद्वारा जारी विज्ञप्ति सामुहिक छलफलबाट नभई निजी तवरमा सार्वजनिक गरिएको आरोप लगाएकी छिन् । सङ्घका तर्फबाट जारी आफ्नो विज्ञप्तिमा भण्डारीले शान्तिपूर्वक जीवन यापन गर्न पाउने संवैधानिक अधिकारलाई प्रवद्र्धन गर्नुको सट्टा व्यक्तिविशेषमा केन्द्रित रही पूर्वाग्रही ढङ्गले विज्ञप्ति प्रकाशित गरिएको उल्लेख गर्दै मिडियाले यर्थात विश्लेषणका साथ समाचार प्रकाशन गर्न पाउनुपर्ने धारणा अघिसारेकी छिन् ।
उता, आफूमाथि परेको अन्यायविरुद्ध आवश्यक कदम उठाइदिन पीडित ‘केआरजी’ले कपिलवस्तु नागरिक समाजसमक्ष लिखित अनुरोध गरेकी छिन् । समाजका अध्यक्ष दोलखबहादुर पछाईंसँग भेट गरी उनले न्यायको गुहार लगाएकी हुन् । अध्यक्ष पछाइले लिखित निवेदन स्वीकार गर्दै प्रहरीबाट अन्याय भएको हो–होइन यथार्थ बुझेर न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बचन दिएका बुझिएको छ ।
यस प्रकरणमा स्थानीय सचेत तप्काले पनि दोषीलाई कारवाही गरिनुपर्छ भन्ने कुरामा कुनै दुईमत नरहेको तर सुनियोजित रूपमा कसैलाई करकापमा पारेर चरित्रहीन सावित गर्नु झन् ठूलो अन्याय हुने धारणा अघिसारेका छन् । ‘प्रहरी मेरो साथी’ भन्ने नारासहित क्रियाशील नेपाल प्रहरीले आफ्नो इमेज अझ उज्यालो हुने गरी यस प्रकरणलाई सुल्झाउने अपेक्षा पनि स्थानीयले राखेका छन् ।

अन्य समाचारहरु