शिवकुमार वेल्वासे
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ४ ठाडाको ओखलढुङ्गाका सात जना युवाले ललितपुरमा ६५ रोपनी र किर्तिपुरमा ४० रोपनीमा जग्गामा टमाटर खेती गरी मनग्ये आम्दानी गर्दै आएका छन् ।
अर्घाखाँचीका सात जना युवाले चार वर्ष अगाडी १ करोड ६० लाखको लगानीमा एस . एन ग्रुप अफ कम्पनी खोलेर बेरोजगार युवालाई रोजगारी दिनुका साथै मनग्ये आम्दानी गर्दै आएका हुन् ।
विदेश गएर अर्काको भूमिमा पसिना चुहाउनु भन्दा आफ्नै देशमा कृषि क्रान्ति गर्ने उद्देश्य लिएर हामीहरु यो अभियान जुटेको सञ्चालक सदस्य डिलबहादुर गैरेले डट्कमलाई जानकारी दिए।
फार्ममा अहिले १५ जनाले रोजगारी पाएका छन भने कृषि पढ्ने विद्यार्थीले ओ जे टी तालिम लिने अवसर पाएका छन। हामीलाई कसैले सहयोग गरेको छैन बरु हामी आफै बेरोजगारीलाई रोजगारी दिएका छौ । हामी यसैमा खुसी छौ उनिले भने ।
हामीहरुले वार्षिक झन्डै २ करोडको टमाटर बिक्री गर्दै आएका छौँ, अबको मंसिरदेखि आफ्नो गृह जिल्लाको शितगंगामा केन्द्रित हुने योजना भएको सञ्चालकहरुले बताएका छन।
धेरै वर्ष विदेशी भूमिमा दु:ख पाएपछि शितगंगाका डिलबहादुर गैरे, किसन थापा, विकास आचार्य, रेशम राज आचार्य, डुक बहादुर झाक्री, बेल बहादुर थापा र खिम बहादुर थापाले ललितपुर र किर्तिपुरमा टमाटर खेती गरेका छन् ।