अर्घाखाँचीमा सवारीसाधनका चालकले आफ्नो सिटसँगै युवती राख्न छोडेनन्

जेष्ठ १२ गते आईताबार दिउसो सन्धिखर्कबाट बुटवल जादै गरेको बसमा । तस्बिर: गोपाल थापा छेत्री, अर्घाखाँचीडट्कम
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा चल्ने यात्रुबाहक सवारीसाधनका चालकले  आफ्नो नजिकको सिटमा युवती राख्न छोडेका छैनन् । 
गाउँमा चल्ने र सन्धिखर्क – गोरसिङे सडक खण्ड अन्तरगत चल्ने प्राय चालकले ट्राफिक नियम विपरित नजिकको सिटमा युवती राखेर सवारीसाधन चलाऊदै आएका देखिन्छन् ।     
गत जेष्ठ १२ गते आईताबार दिउसो सन्धिखर्कबाट बुटवल जादै गरेको लु १ ख ९७९५ नम्बरको यात्रुबाहक बसले सन्धिखर्कबाट नै युवतीलाई साथमा राखेर सवारी चलाऊदा पनि नरपानी, ठाडामा प्रहरीले वास्ता गरेनन् ।
नजिक बसेका यात्रुहरुले अफ्ट्यारो महसुस गरेता पनि चालकले सिट नजिकैको युवतीसँग जिस्किदैँ बस चलाएका थिए । 
उता गत चैत्र २५ गते सोमबार सदरमुकाम सन्धिखर्कबाट प्युठान ऐरावतीको बरौला गाउँतर्फ जाँदै गरेको १८ बढी यात्रु सवार लु १ ज १२२९ नम्बरको जीप नुवाकोटको लात्तेबाँझमा दुर्घटना हुँदा ४ जनाको निधन भएको थियो । उक्त दुर्घट्नामा जीप चालकले सिटमा युवती राखेर घटना भएको बताइएको थियो ।
सोही घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वदलिय बैठकले सवारीसाधन माथि थप कडाई गरेको थियो । सो सर्वदलिय बैठकले दुर्घटना न्यूनीकरण गर्न भन्दै जिल्लाभर सञ्चालन हुने ठूला तथा साना सम्पूर्ण सवारी साधनमा चालक  नजिकको सिटमा युवती बस्न नपाउने निर्णय गरिएको थियो ।       
चालक र युवती नजिकै या सँगै बस्दा बढी गफ हुने र त्यसबाट चालकमा एकाग्रता नरहने हुनाले पनि आफूहरुले सवारी दुर्घटना कम गर्ने प्रयास स्वरुप यस्तो निर्णय लिइएको थियो । 
जिल्लामा सञ्चालन हुने सवारी साधनहरुमा चालकले युवती आफ्नो छेउमा या सँगै राखेर सवारी सञ्चालन गरेको भेटिए कम्तीमा पनि रु पाँच हजारसम्म चालकलाई जरिवाना गरिने उल्लेख थियो । 
सवारी चालकलाई जिम्मेवार बनाउन, दुर्घटना न्यूनीकरण गर्न र सभ्य समाजको निर्माण गर्न भन्दै अर्घाखाँचीमा जिल्ला ट्राफिक कार्यालयले  सबै क्षेत्रमा नियमित चेकजाँच र सचेतना फैलाइरहेको देखिन्छ । प्रहरीले ओभलोड नबोक्न, क्षमता भन्दा बढी नबोक्न, सिट्बेल्ट लगाउने, हेल्मेट लगाउन, सवारी कागज बोक्न, मापसे नगर्न, तीव्र गतिमा सवारी नचलाउन सचेत गराउँदै आएको देखिएपनि अधिकांश साना–ठूला सवारीसाधनका चालकहरू लापरबाही गर्दै आएको देखिन्छ । 

अन्य समाचारहरु