किमडाँडा गाँजरीकी क्यान्सर पिडित महिलालाई आर्थिक सहयोग प्रदान

गोपाल भट्टराई 
किमडाँडा, अर्घाखाँची जेठ १८ । विश्व धुम्रपान रहित दिवसको अवसरमा अर्घाखाँचीमा ७१ बर्षिय क्यान्सर  पिडित महिलालाई आर्थिक सहयोग प्रदान गरिएको छ । सन्धिखर्क – ८ किमडाँडा गाँजरी निवासी शारिरिक रुपमा अशक्त संगै क्यान्सर  रोगसंग लडिरहनुभएकी कमला सुनारलाई उपचारमा सहयोग होस भनेर १० हजार रुपैंया सहयोग प्रदान गरिएको हो । कान्छो छोरा समेत अपाङ्गताको समस्यामा रहेको र अहिलेको परिवेशमा रेखदेख गर्ने मान्छे समेत घरमा नभएपछि ओछ्यानमै रोग संग लडिरहनुभएकी बृद्ध कमलालाई छिमेकी बिष्णु सुनारको पहल र गाउंलेहरुको सहयोगमा अहिले भरतपुरको अस्पतालमा लगेर उपचार थालिएको छ ।
आर्थिक अवस्था निकै कमजोर रहेको परिवारलाई स्वास्थ्यले समेत ठगेपछि चिन्तामा डुबेको अवस्थामा नेपाल अर्बुद रोग निवारण संस्थाको पहलमा सन्धिखर्क स्थित सामाजिक व्यक्तित्वहरुबाट उठाएको उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
विश्व धुम्रपान रहित दिवसको अवसरमा सुक्रबार शान्तिबंगैचामा आयोजना गरिएको सचेतनामुलक कार्यक्रमको अवसरमा उक्त रकम संकलन भएको नेपाल अर्बुद रोग निवारण संस्थाका जिल्ला अध्यक्ष पिताम्बर बन्जाडेले जानकारी दिनुभएको छ । नेपाल अर्बुद रोग निवारण संस्था,सन्धिखर्क ३ को वडा कार्यालय र अर्घाखाँची टेक्नीकल टे«ेनिङ्ग स्कुल सन्धिखर्कको संयुक्त आयोजनामा विहान ७ बजे सन्धिखर्कबाट निकालिएको प्रभात फेरी चुत्राबेसी बजार परिक्रमा गरि पूर्न शान्ति बंगैचामा पुगेर प्रवचन कार्यक्रममा परिणत भएको थियो ।
संस्थाका अध्यक्ष बन्जाडेको अध्यक्षता,उपाध्यक्ष नारायण पौडेल र द्रोण भुसालको सहजीकरण एवम् सचिव कुशल भुसालको संचालनमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझी,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने,जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा.जगन्नाथ तिवारी,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले मन्तब्य राख्दै स्वास्थ्य क्षेत्रमा अनुकरणीय काम गरि जिल्लालाई नमुना बनाउन सबै पक्ष एक जुट हुनुपर्नेमा जोड दिनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु