अर्घाखाँचीका शिशिर खनाल हराएको एक हप्ता पुरा, अझै फेला परेनन्, कुकुरसहितको प्रहरी टोली निरन्तर परिचालन

बेपत्ता शिशिर खनाल 
अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौँ (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङका एक एमबीबीएस गर्दै गरेका विधार्थी काठमाडौँबाट बेपत्ता भएको एक हप्ता पुगेपनि अझै फेला परेका छैनन् । 
ढाकावाङका शिशिर खनाल गत जेष्ठ १७ गते शुक्रबारदेखि काठमाडौँबाट बेपत्ता भएका थिए । 
तालिमप्राप्त  कुकुरसहित महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कीर्तिपुरबाट खटिएको टोली पुष्पलाल पार्क, भाजंगलसहित आसपासका  क्षेत्रमा खोजी जारी राखेको छ । डीएसपी होविन्द्र बोगटी नेतृत्वमा रहेको प्रहरी टोली निरन्तर यो क्षेत्रमा परिचालन भइरहेछ। 
घरबाट रातो रंगको बा ८७ प ७८०४ नम्बरको पल्सर बाईकमा निस्किएका शिशिर मोबाईल नम्बरबाट स्थान पहिचान गर्दा ललितपुरको धोवीघाट देखिएको प्रहरीले बताएको थियो ।    उनको मोटरसाइकल कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि प्रहरीले सोही क्षेत्रमा ‘सर्च’ अप्रेसन गरेको हो। शिशिरका दुबै मोबाइल पहिलैदेखि अफ छन्।
शिशिर काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो (अन्तिम ) वर्षमा अध्ययनरत थिए । 
उनलाई कसैले देखेमा ९८४७५०९२४४  , ९८४७१५६७७२  , ९८४३०६०९७९ नम्बर वा नजिकको प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ । गत  शुक्रबारदेखि  सम्पर्क बिहिन रहेका शिशिरको खोजी गरिदिन परिवारले प्रहरी लगायत सबैमा अनुरोध गरेका छन् ।
शिशिर परिवारसँग काठमाडौं काेटेश्वरमा बस्थे। अर्घाखाँची स्थायी बसोबास भए पनि लामो समयदेखि खनाल परिवार काेटेश्वरमामा घर किनेर काठमाडौंमा नै बस्दै आएकाे छ । 
शिशिर क्रिकेट खेल्ने र हेर्ने बाहेक अध्ययनमै ब्यस्त
प्रहरीका अनुसार क्रिकेट खेल्ने र हेर्ने बाहेक शिशिर अध्ययनमै ब्यस्त थिए। उनको प्रेम सम्बन्ध र ब्यक्तिगत रिसइबीसमेत केही देखिएको छैन्। ‘एक हप्ता भयो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन,’ प्राविधिक सबै विश्लेषण गर्यौं तर केही सुराक पाउन सकिएको छैन।’ उनका अनुसार उनले डिप्रेसनकाे औषधी नियमित सेवन गरिरहेका  थिए। 

अन्य समाचारहरु