अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौँ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङका बेपत्ता एक एमबीबीएस गर्दै गरेका विधार्थीको शब कीर्तिपुरको जंगलमा फेला परेको छ ।
खोजी गर्ने क्रममा ढाकावाङका २४ वर्षीय शिशिर खनालको शव कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकै जंगलमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।
फेला परेकाे शव सडेको अवस्थामा भेटिएको र हत्या वा आत्महत्या के हो भन्ने पाेष्टमार्टमपछि मात्र यकिन हुने प्रहरीकाे भनाइ छ । शव पाेष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएकाे छ ।
शिशिर गत जेष्ठ १७ गते शुक्रबारदेखि हराएका थिए। उनको शव फेला पार्नुअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा मोटरसाइकल फेला पारेको थियो।
घरबाट रातो रंगको बा ८७ प ७८०४ नम्बरको पल्सर बाईकमा निस्किएका शिशिर मोबाईल नम्बरबाट स्थान पहिचान गर्दा ललितपुरको धोवीघाट देखिएको प्रहरीले बताएको थियो । उनको मोटरसाइकल कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि प्रहरीले सोही क्षेत्रमा ‘सर्च’ अप्रेसन गरेको थियो । शिशिरका दुबै मोबाइल पहिलैदेखि अफ थिए ।
शिशिर काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो (अन्तिम ) वर्षमा अध्ययनरत थिए ।
शिशिर दाजुभाउजुसँग काठमाडौंको काेटेश्वरमा बस्थे। अर्घाखाँची स्थायी बसोबास भए पनि लामो समयदेखि खनाल परिवार काेटेश्वरमामा घर किनेर काठमाडौंमा नै बस्दै आएकाे छ । शिशिरको आमाबुबासहित परिवारका अन्य सदस्यको ०५८ सालमा सडक दुर्घटनामा ज्यान गएको थियो।
प्रहरीका अनुसार क्रिकेट खेल्ने र हेर्ने बाहेक शिशिर अध्ययनमै ब्यस्त थिए। उनको प्रेम सम्बन्ध र ब्यक्तिगत रिसइबीसमेत केही देखिएको थिएन् । उनले डिप्रेसनकाे औषधी नियमित सेवन गरिरहेका थिए।