अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा गत जेष्ठ १९ गते आइतबार राति चलेको हावाहुरीबाट छाना उडाएर क्षति भएको एक निजी विधालयलाई गाउँपालिकाले जस्तापाता (टिन) उपलब्ध गराएको छ ।
छत्रदेव गाउँपालिकाले कानून विपरीत विनाशकारी हावाहुरीले छानो उडाएर क्षति भएको श्री शहिद मेमोरियल ईंग्लिश बोर्डिङ स्कुललाई जस्तापाता उपलब्ध गराएको हो ।
छत्रदेव गाउँपालिकाका लेखनाथ पोख्रेलले गत जेष्ठ २६ गते ०.४०एम.एम निलो जस्तापाता १२ बण्डल उक्त निजी बोर्डिङ स्कुललाई उपलब्ध गराएको हो ।
उक्त निजी बोर्डिङ स्कुललाई जस्तापाता उपलब्ध गराएको भन्दै सामाजिकसन्जालहरुमा चर्को विरोध भएको छ ।
उक्त क्षेत्रमा हावा हुरीले अन्य सरकारी बिधालयहरुको छानो समेत उडाएकोले बिधार्थिहरुको पढाइ समेत प्रभाबित भई रहेता पनि गाउँपालिकाको ध्यान पुग्न सकेको छैन् । यस्तै हावाहुरी पिडितलाई सहयोग अहिलेसम्म पुग्न सकेको छैन् ।
उता यसअघि छत्रदेव गाँउपालिकामा खरको छाना भएका घरलाई हटाई टिनको छाना लगाउनका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
छत्रदेव गाउँपालिकाको कार्यपालिका बैठकले गाउँपालिका भित्र रहेका ३ सय ३४ खरको छानो भएका घरमा टिनको छानो लगाउने निर्णय गरेको थियो । यहाँ अहिलेसम्म टिन लगाउने कार्य कुरामा मात्र सिमित भएको छ ।