लक्ष्मण घिमिरे
खन । गएको बुधवार मालारानी गाँउपालिका-४, खनमा नेपाली कंग्रेस परित्याग गरी ४४ जना नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेको समाचार आयो । नव प्रवेशीहरुलाई नेकपाका नेता तथा मालारानी गाउँपालिका वडा नम्बर-४ का वडा अध्यक्ष बिष्णुप्रसाद पोख्रेल र गंगाराम खनालले अबिर लगाई नेकपाको सदस्यता प्रदान गर्नु भएको खबर पनी प्राप्त भयो ।
तर, हल्ला सुनिएपनी त्यसमा सत्यता नभएको कंग्रेस नेताहरुले प्रतिक्रिया दिएका थिए । त्यो कुरा केही हदसम्म मिथ्या पनी देखिएको छ ।
शनिवार ति ४४ जना भनिएका मध्ये १८ जनाले आफुहरु कंग्रेसनै भएको भन्दै भ्रामक कुराहरु फैलाएर आफुहरुलाई कमजोर बनाउन खोजेको आरोप लगाए । कपोकल्पित कुराले आफुहरुको भावनामा ठेस पुगेको भन्दै कंग्रेस ऐतिहासिक र वफादार पार्टी भएकाले कंग्रेस त्याग गर्नु र प्राण त्याग गर्न आफुहरुका लागी एकै भएको उनीहरुको भनाई छ । स्थानिय कंग्रेसका नेताहरुले पनी यो हल्ला मात्र भएको भनेका छन ।
साविक खन गाविस सचिव तोयनाथ खनाल कांग्रेस प्रवेश
यता कंग्रेसमा पहिरो गएको हल्ला चलिरहँदा उता तत्कालीन नेकपा एमालेका साविक खन गाविस सचिव तोयनाथ खनाल कांग्रेस प्रवेश गरेका छन । सोमवार बिहान नेकपा परित्याग गरि तत्कालीन नेकपा एमालेका साविक खन गाविस हाल मालारानी-४ का सचिव तोयनाथ खनाल कांग्रेस प्रवेश गरेका सभापती बिष्णु मु्स्कानले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
खनाललाई सभापति मु्स्कान, महाधिवेशन प्रतिनिधी कृष्ण खनाल लगायतका नेताले पार्टी प्रवेश गराउनु भएको हो । नेकपा छोडेर कांग्रेस प्रवेश गरेका तोयनाथले नेकपाले जनताको हितमा काम नगर्ने तथा अराजकताको बाटोमा हिंडेकाले आफुले पार्टी परित्याग गरेको प्रतिक्रिया दिनुभयो ।