सन्धिखर्कमा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । 
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा जिल्ला आयोजक समिति अर्घाखाँचीद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन मिति २०७६/०३/११(जुन २६ २०१९) बिहान ७ बजे जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, अर्घाखाँची उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, पत्रकार, उद्योग व्यवसायी लगायत सर्वसाधारणको उल्लेख्य सहभागितामा प्लेकार्ड र ब्यानर सहित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । 
 स्थानीय शान्ती बगैंचाबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न भागको परिक्रमा गरी पुन शान्ती बगैंचामा आई संक्षिप्त सभामा परिणत भएको थियो ।
 संक्षिप्त सभामा अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी, कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख  पिताम्बर भुसाल, कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने लगायतले लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रम जिल्ला आयोजक समितिका सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु