गणेश बेल्बासे संगम,
ठाडा, अर्घाखाँची, असार २५ । शितगंगा नगरपालिकाको वडा नं. ९ र १० साविक सिद्धारा गाविसकाे वार्ड नम्बर ९ र १ (उत्तरी भाग), वार्ड नम्बर २, ७ र ८ (लिसिकुना बागखाेर, सिद्धारा, डिही, तल्लाे सिद्धारा, साखिने, कानाचाैर, छहरे, सिलिङ्गखाेला, लाैरी टोलवस्तीका जनताहरुले सिंहदरबारकाे महशुस गर्न नपाएकाे गुनासो पोखेका छन् ।
विद्युत प्राधिकरणको सहयोगमा पोल गढेको २ वर्ष हुदाँ सम्म पनि विद्युत बल्न नसक्दा सिद्धाराका जनता लाल्टिन र दियालो बोकेर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा विद्युत, बाटोघाटो, स्वास्थ्य सुविधा, खानेपानी, जंगली जनावरको आंतक नियन्त्रण लगाएतको विषयमा उल्लेख गरिएको छ ।
यहाँका बासिन्दा कोही पनि आफूलाई नगरवासी भन्न रुचाउँदैनन् । किनकी उनीहरूले विकासको आधारभूत सुविधा पाएकै छैनन् । सडक ग्राभेल नहुँदा बर्खायाममा आवतजावत गर्न सकिदैन । जनप्रतिनिधि पाएपछि उज्यालोमा बस्न पाईएला, बाटाघाटा राम्रा बन्लान्, खानेपानीको समाधान होला, स्वास्थ्य सेवा-सुविधा होला, शिक्षाको गुणस्तर वृद्धिको लागि लगानी बढ्ला भनेर नागरिकले आसा गरेको तर त्यसो अनुसार काम नभएको अभियानका सह-संयोजक गोविन्द रसायलीले बताए ।
विकास निर्माणको कार्यमा जनप्रतिनिधि एवम विभिन्न कार्यलयको ध्यान अाकर्षण गराउने उद्देश्य सहित वार्ड कार्यलय, नगरपालिका कार्यलय, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापन पत्र बुझाउने कार्यक्रम सहित अगाडी बढेको अभियानका सह-संयोजक रसायलीले बताएका छन् ।