बिष्णु कुमार आले
जलुके, अर्घाखाँची असार ३१, २०७६ । अर्घाखाँचीको शितगंगा नगरपालिका ८ जलुकेको सातमारामा मदिरा सेवन गरी ज्वाइँले सासूको घाँटीमा डोरीले कसेर हत्या गरेका छन्।
दाङ जिल्ला राप्ती गाँउपालिका २ लालमटिया घर भएका जेठा ज्वाइँ २९ वर्षीय वसन्त कुमालले ससुराली आएका बेला जलुकेको सातमारा बस्ने सासू ४३ वर्षीय ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ।
माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका अभियुक्त वसन्त सोमबार राति सासू र आफूसँगै बसेर मदिरा सेवन गरेका थिए। सोही समयमा झगडा हुँदा रिसको झोकमा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्रहरीका अनुसार सासूको हत्यापछि अभियुक्त कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएका थिए। घटनास्थलमा गाउँले आउँदा कुमाल भागेर नजिकै आफन्त कहाँ गएर बसेका थिए। उक्त विषयमा सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ।
प्रहरीले अभियक्त कुमाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।