लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम संवाददाता ) । प्रदेश नम्बर-५ का ११ जिल्लाको सुरक्षा निगरानी सीसीटीभी मार्फत सुरु गरिएको छ ।
अर्घाखाँचीमा ७ वटा सिसीटीभी क्यामेरा जडान गरिएको छ । अपराधिक गतिविधी तथा दुर्घटना न्युनिकरणका लागी यो पद्दती अपनाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।
आधुनिक सुरक्षा प्रणाली जडान गरी प्रदेशको शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले प्रदेश-५ सरकारले रोल्पा बाहेकका ११ जिल्लामा १ सय ५ ओटा सिसिटीभी क्यामेरा जडान गरी निगरानी सुरु गरेको हो ।
२ करोड ५९ लाख ९३ हजार रुपैयाँ बजेटमा १ सय ५ वटा सिसिटीभी क्यामेरा जडान गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिनुभयो ।
लुइँटेलका अनुसार अर्घाखाँचीमा ७ वटा, रुपन्देहीमा १८ वटा, प्यूठानमा ९ वटा, गुल्मीमा ८ वटा, पाल्पामा १६ वटा, नवलपरासी पश्चिममा १८ वटा, कपिलवस्तुमा १४ वटा, बाँकेमा १५ वटा र प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा ८ वटा सीसीटीभी जडान भएका छन ।
यसैबिच सिसिटीभी कन्ट्रोलरुमको मुख्यमन्त्री शंकर पोखरेलले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सिसिटीभी जडानपछि दुर्घटना र अपराध न्यूनिकरणमा सहयोग मिल्ने बताउनु भयो । प्रहरीको एक्लो प्रयासले मात्रै दुर्घटना र अपराध न्यूनिकरण गर्न नसकिने हुँदा सिसिटीभी जडानका लागि प्रदेश सरकारले पर्याप्त वजेट छुट्टाएको उहाँको भनाई छ ।
बढी दुर्घटना हुने, ट्राफिक जाम हुने र आपराधिक गतिविधि हुन सक्ने शंकास्पद स्थानहरुमा पनि सिसिटीभी जडान गर्नुपर्ने आवश्यकता औंल्याउंदै उनले सरकारले सहयोग गर्ने बताए ।
चालु आर्थिक बर्षमा प्रदेशका १२ जिल्लाका ४५ संवेदनशील स्थानहरुमा सीसीटीभी जडानका लागि प्रस्ताव गरिएको छ ।
सिसिटीभी जडानपछि समाजमा हुने अपराधिक घटनाहरुमा कमी आउनुका साथै घटनाहरुको वैज्ञानिक अनुसन्धान गर्न, अपराधीक मनोवृत्तिका मानिसहरुमा मनोवैज्ञानिक असर पार्न, फरार अभियुक्त तथा सवारी साधनको पहिचान गर्न र कम जनशक्तीबाट धेरै स्थानहरुको अनुगमन गर्न सजिलो हुने प्रदेश प्रहरी प्रमुख सुरेशविक्रम शाहले बताउनु भयो ।