विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाई सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरियोस्

नेत्र मरासिनी
अर्घाखाँची ।  विहान सबेरै उठी घरको काम सकेर हतार हतार माईत जान तरखर गर्दैगर्दा झमझम झरी पर्दा कसको मन नकुँडेला ?
नेपाली नारीहरुको महान चाड हरितालीका तिज मनाउन माइत जान मन लाग्छ तर नौडाँडा पारीको माईतीघर,भदौरे झरीले कैयौं चेलीको रहर रहरमै सिमीत बन्दथ्यो ।
भदौरे गाभा र तामाको स्वाद संगै आमाको स्नेही हातले पकाएको तिजको दर अगेनाको डिलमै राखी छोरी आउने बाटो हेर्दै बस्ने धेरै आमाका आशाहरु भदौरे झरीसंगै पखालीन्थे । बर्षभरी पराईघरको बुहार्तन सहेर बेदनाको पोको फुकाउन तिजमा माइतीघर जान खोज्ने चेलीको मुहारमा अधिकांश कालो बादल मडारीन्थ्यो ।
एकाबिहानै झिस्मीसे देखी संसाझ सम्म लर्कदै र मर्कदै बल्लतल्ल माइतीघरको आँगन सम्म पुगीन्थ्यो । यो समग्र अर्घाखाँची जिल्लाकै यथार्थ थियो ।
पहाडी भुभागले ढाकेको अर्घाखाँची जिल्ला त्यसमा पनि समग्र विकासका हिसावले पछिपरेको दक्षिणखाँची,भौगोलीक कठिनायी,न्युन जनघनत्व र ठुलो भुगोलको प्रतिनिधीत्व गर्ने शितगंगाको विकासको कुरा सामान्य रहेन ।
जिल्लाको नेतृत्व र कर्मचारीतन्त्रको दृष्टिकोणमा पराईजस्तै बनेको यो क्षेत्रको विकासमा सबैको कमैमात्र ध्यान पुगेको होला । विगतमा क्षणिक विकासको लक्ष लिइएको यस जिल्लामा बढिमा सात महिने विकास पद्धति अंगालीएको पाइन्छ । जसमा तीन महिने बर्षाले जिउको तीउ गराउदथ्यो भन्दा फरक नपर्ला ।
विगतमा दिगो विकासको अवधारणालाई अंगाल्न नसकेको यो जिल्लाले स्थानीय तहको नेतृत्व पाए संगै सबैको मुहारमा आशाका मुनाहरु पलाउन थालेका छन् । सडक सञ्जालले जेलीएको जिल्लाको किल्ला लगाउन सफल यो जिल्लाले स्थानीय तहमा नेतृत्व पाएसंगै जिल्लावासीमा केही खुसी पलाएको पाइन्छ ।
जिल्ला भित्र मुख्य सडक गाहृो साहृो वाहृै महिना चल्न थालेका छन् । चाडवाड मनाउन ओहोर दोहोर गर्ने हुन् या आम सर्बसाधारण सडककै कारण आफ्ना पाइलाहरु रोक्न वाध्यहुन परेको छैन । यसलाइ पनी छोटो समयमा ठुलो उपलब्धि ठान्नुपर्दछ ।
 स्थानियतहमा स्थानिय नेतृत्वको सरकारको अनुभुती गरीव र निमुखा जनताले गर्न पाउनु सकारात्मक पक्ष हो ।
यति भनीरहदा जनताको नामको विकासलाई आफ्नै खल्तीको जस्तै गरी चाट्न पल्केका केही ब्रहमचारीहरु र जनताको विकासको जिम्मा लिदै हिड्ने केहि भुडिवालहरुको चंगुल देखी बच्न भने नेतृत्वकर्तालाइ चुनौतीनै देखिन्छ । सकारात्मक सोच र व्यवाहार नेतृत्वकर्तामा हुनेहो भने पक्कैपनि त्यसको प्रभाव विकासका चरणहरुमा पर्न जान्छ ।
आफुलाइ जनताका शासक ठान्ने प्रवृति त्यागेर काम र कर्तव्यप्रति उत्तरदायि बन्नुमा महानता सम्झनुपर्दछ ।
जेहोस् विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गर्दै अगाडि बढ्नेहो भने अर्घाखाँची जिल्लाका सबै स्थानिय सरकार सफल हुनेछन् ।

अन्य समाचारहरु