सिमलपानी, अर्घाखाँची भदौ २१, २०७६ । अर्घाखाँचीको सिमलपानीको वाणगंगा खोलापारि पावरामा विद्यालय छ। करिब ३ सय मिटर हिँडेपछि स्कुल पुगिन्छ। तर बीचबाटोमै पर्ने बाणगंगा नदी तरेर स्कुल जान नसक्दा सयौं विद्यार्थी पढ्नबाट वन्चित हुँदै आएका छन्।
हिउँदमा तर्न सकिने वाणगंगा बर्खामा भने तर्न सक्ने उपाय नै छैन। पढाई बिग्रीने डरले आत्तिएका विद्यार्थी जनतन स्कुल जान खोज्दा उनिहरु जोखिम मोलेरै जान बाध्य छन्। खोला तर्न नसके घरबाटै विद्यालय भवन हेरेर बस्नुबाहेक विक्रमसोताका बालबालिकासित अर्को विकल्प छैन।
अभिभावकको वेदना
जिल्लाको शितगंगा नगरपालिका-१४ सिमलपानीको पावरा र विक्रमसोतामा बाक्लो बस्ती छ। खोलापारि पावरमा माध्यमिक विद्यालय छ। अभिभावकलाई छोराछोरी नियमित विद्यालय पठाउने मन भएर पनि खोला तर्न सकिँदैन। लेदोसहितको बाढी आइरहन्छ, विक्रमसोताका स्थानीय होम बहादुर पल्लीले भने, वरिपरि जंगलले घेरिएको बस्ती छ। बिक्रमसोतातिर घाम लागेको बेलामा पनि खोलामा बाढी आएको हुन्छ। बर्खाभरि जोखिम धेरै हुन्छ। दुई बस्तीको बीचमा पुल बनाइदिन स्थानीयले गुहार मागेको लामो समय भयो। कसैले वास्ता गरेनन्, उनले भने, झोलुंगे पुल भए पनि बर्खाभरि विद्यार्थी स्कुल जान र यी गाउँबीच आउजाउ बन्द हुने थिएन। वाणगंगाले बर्सेनि बस्ती कटान गर्छ। बाढीले गाउँ डुब्छन्। चुरे संरक्षण क्षेत्रअन्तर्गत पर्छ। पहाडको जंगलमा बस्ती छरिएर रहेको छ। कतिबेला खोलामा बाढी आउँछ पत्तै हुँदैन, स्थानीय वीरबहादुर खाम्चाकीले भने, साना बालबालिकाको लागि खोला तर्नु जोखिम हुन्छ। बाढीले बगाएर बेपत्ता पार्ने डरले बर्खाभरि कोही पनि खोला तर्दैनन्। घरमा बसेर अभिभावकले पढाउनेबाहेक अरू विकल्प छैन।
कक्षा ५ सम्म विक्रम गाउँकै स्कुलमा अध्ययन गर्छन्। त्यसपछि ६ कक्षाबाट १० सम्म पढ्न यहाँका बालबालिका पावर मावि जानुपर्छ।
विद्यार्थीको पिरलो
बर्खाभरि पढाइ छुट्छ, छात्रा सुस्मा थापाले भनिन्, घरबाट पावरा मावि स्कुल छर्लङ देखिन्छ। तर, के गर्नु बाधक खोला बनिदियो। बर्खाभरि विक्रममा छुट्टै कक्षाको व्यवस्था गर्नुपर्ने उनिहरुको माग छ। त्यही विद्यालयकी विमला रेश्मीले बर्खाभरी घरमै किताब पढ्छिन्।