प्रेमनारायण आचार्य
अर्घाखाँची । पछिल्लो समयमा भाइरल ज्वरोका बिरामी बढेको छन्। विरामीको संख्या बढेकै कारण जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ।
जिल्ला अस्पतालको ओपीडीमा अहिले दैनिक रुपमा २०० भन्दा बढी र इमरजेन्सीमा दैनिक १०० जनाको हाराहारीमा भाइरलका बिरामीहरू अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए।
अरु बेला दैनिक ओपीडी र इमरजेन्सीमा ५०देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको थिए। तर, अहिले यो संख्यामा चार गुणाले बढेको हो। १५ सैयाको जिल्ला अस्पतालमा भुइमा र बेन्चमा गरी ४५ जना बिरामी भर्ना भएको उनले जानकारी दिए।
जिल्ला अस्पताल सँगै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा समेत भाइरल ज्वरोका बिरामी आइरहेका छन्। जिल्ला अस्पतालमा आउने बिरामी मध्ये करिब ७० प्रतिशत बिरामी भाइरल जवरोका रहेको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले बताए।