अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको सन्धिखर्कमा केबुलको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका १ हल लाईनमा केबुलको तार जोडने क्रममा एक्कासी करेन्ट लागेर मालारानी गाउँपालिका वार्ड न ९ गाेखुङ्गाका वार्डअध्यक्ष फन बहादुर पुनका ३१ वर्षिय छोरा नारायण पुनको निधन भएको हो ।
करेन्ट लागेर जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
पुन हललाइनका शिवराम थापाको घरमा बस्दै आएका थिए । उनी बस्ने घरमा केबुलको चुडिएको तारलाई फलामको रडमा प्लास्टिकले बेरी जोडने क्रममा सोमबार अपरान्ह ५ बजे घरको छतमा कारेन्ट लागेको थियो।
मृतक पुनका श्रीमति र दुई छोरा रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।