अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। दशैं तथा तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले चाडपर्व सुरक्षा योजना लागू गरेको छ।
चाडवाडका समयमा हुने सम्भावित हो-हल्ला, झै-झगडा, काटमार, अशान्ति तथा अप्रिय घट्ना न्यूनीकरणका लागि प्रशासनले शुक्रबारदेखि दशैं तिहारसम्म लागूहुने गरी चाडपर्व सुरक्षा योजना लागू गरेको हो। चाडपर्वलाई शान्तिपूर्ण बनाउनका लागि यातायात व्यवस्थापन, मादक पदार्थको अधिक प्रयोग नियन्त्रण तथा जुवातास नियन्त्रण, बजार अनुगमन लगायतका विषयलाई ध्यानमा राखेर सुरक्षा योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए।
कतिपय यातायात व्यवसायीले चाडपर्व मनाउनका लागि घर आउने यात्रुबाट तोकिएभन्दा बढि भाडा असुल्ने, क्षमताभन्दा बढि यात्रु राख्ने, एउटै चालकलाई निरन्तर काममा लगाउने गरेको पाइएकाले चाडपर्व सुरक्षा योजना लागू गरेको हो।
शान्ति सुरक्षाका लागि चाडपर्वका समयमा जिल्ला प्रहरी, ईलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा चौविसै घण्टा कन्ट्रोल रुम खुला गरिएको छ।
मादक पदार्थको अधिक प्रयोग एबं जुवातासबाट दशैंतिहारको समयमा हुने सम्भावित अपराध, अशान्ती एबं दुर्घट्नालाई मध्यनजर गर्दै नियन्त्रणका लागि विषेश सुरक्षा परिक्षालन गरिएको छ ।
मादक पदार्थ सेवन गरेर हो-हल्ला गर्ने, झै-झगडा गर्ने र जुवातास खेल्नेको विषयमा सूचना लिन पनि विषेश सुरक्षा परिक्षालन गरिएको छ ।