सुर्य भुसाल
बाँगी, अर्घाखाँची । राष्ट्रिय सभा सदस्य तथा नेकपाका नेता चन्द्रबहादुर खडका (उज्जवल)ले युवाहरू सकारात्मक सोचका साथ समाज सुधारमा अग्रसर हुनु पर्ने बताउनु भएको छ ।
उदीयमान जनजागृति क्लव मालारानी ५ बाँगीको प्रथम बार्षिक साधरण सभाको उदघाटन गर्दै उहाँले पछिल्लो समय सामाजिक सञ्जालमा अभद्र र छुद्र टिप्पणी गर्नेहरू बढेको भन्दै युवाहरू सिर्जनशिल कार्यमा लाग्नु पर्ने औंल्याउनुभयो ।
उहाँले युवाहरू विना परिवर्तन संभव नरहने बताउँदै संगठित र केन्द्रीकृत भएर समाज सेवामा लाग्नु पर्ने जिकिर गर्नुभयो । उहाँले क्लवका गतिविधिहरूलाई आफूले नजिकबाट नियाएको भन्दै क्लवका कामहरूबाट प्रभावित भएको बताउनुभयो । उहाँले क्लवको भवन निर्माणका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सांसद चेतनारायण आचार्यले स्वच्छ भावनाका साथ समाज सेवामा लाग्ने संस्था र व्यक्तिहरू नै लोकप्रिय हुने बताउनुभयो । उहाँले युवाहरूको साथसहयोगले ठूला ठूला परिवर्तन संभव भएको भन्दै युवाहरूका समस्या समाधान गर्न आफूहरू तयार रहेको बताउनुभयो ।
उहाँले जिल्लाको समग्र विकासका लागि जनप्रतिनिधिहररूले कुनै कसुर बाँकी राख्न नहुने भन्दै प्रदेश सरकारबाट मात्रै सवा अर्व वजेट विनियोजन भइ काम भइरहेको बताउनुभयो । उहाँले व्याप्त रूपमा रहेको खानेपानीको समस्या हल गर्नका लागि विभिन्न परियोजनाहरू सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले युवाहरूलाई उत्पादनका काममा लागि स्वराजगार बन्न आग्रह गर्दै सहकारिता र सामुहिकतामा आधारित कृषि प्रणाली अबलम्वन गर्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्य, गुठी संस्थानका बोर्ड सदस्य तोजबहादुर रायमाझी, क्लवका संरक्षक रामबहादुर चौहान, वडा नं। ५ का अध्यक्ष शोभाखर भुसाल, ३ का कावा अध्यक्ष दिपा पोख्रेल, शान्ति माविका प्राचार्य मान बहादुर पाण्डे, शान्ति मावि भु।पू विद्यार्थी समाजका पूर्व अध्यक्ष गंगा पन्थी, क्लवका सल्लाहकार किम बहादुर चौहान लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम विष्णु बहादुर चौहानको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अशोक चौहानको स्वागत मन्तव्य र सचिव विष्णु कुमार चौहानको सञ्चालनमा सम्पन्न भएको थियो ।