श्याम घिमिरे
मंसीर ६ अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडानं.–३ मा हुने उपनिर्वाचनमा नेकपाले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेस अर्घाखाँचीले सुक्रबार उजुरी दर्ता गराएको छ । सत्ताको आडमा नेकपाले आचारसंहिता र सहमती पालना नगरेको नेपाली कांग्रेसले जनाएको छ । निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ को मर्म विपरित, आचारसंहिताको नियम ३ को उपनियम ‘ख’ विपरित नेकपाले कार्य गरेको कांग्रेसले आरोप लगाएको छ ।
गाउँपालिकाको रकमको चरम दुरुपयोग गरि गाउँपालिकाका जनप्रतिनिधि, संघिय तथा प्रदेश सांसदहरुको उपस्थितिमा मतदातालाई प्रत्यक्ष प्रभाव पार्ने उदेश्यले गैरकानुनी तरिकाले डोजर सञ्चालन गर्ने, विभिन्न योजनाहरु वितरण गर्ने, योजनाका आश्वासन दिने कार्य गरेको उजुरीपत्रमा उल्लेख गरीएको छ । त्यस्तै आचारसंहिताको नियम ५ को उपनियम ख १ को मर्म विपरित प्रचारप्रसारको क्रममा सरकारी स्रोतसाधनको चरम दुरुपयोग गरेको र यो आचारसंहिता विपरित रहेको भन्दै कांग्रेस अर्घाखाँचीका जिल्ला उपसभापति शान्ता भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दर्ता गराउनु भएको हो ।
उजुरी दर्ताको बोधार्थ निर्वाचन आयोगको केन्द्रिय कार्यलय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, जिल्ला प्रहरी कार्यलय अर्घाखाँची र नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा समेत दिएको उपसभापति भण्डारीले जानकारी दिनुभयो । यही मंसीर १४ गते हुने उपनिर्वाचनमा मालारानी गाउँपालिकाको वडानं.–३ खनदहबाट वडा अध्यक्ष पदकोलागि नेकपाबाट यमलाल खनाल, नेपाली कांग्रेसबाट शोभाखर खनाल र राप्रपावाट रणवहादुर खनाल को उमेद्वारी परेकोे छ ।
यसैबिच उपनिर्बाचनमा नेकपाले आचार संहिता बिपरित कुनै पनि कार्य नगरेको नेकपाका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काले बताउनु भएको छ । खड्काले उपनिर्बाचनमा काँग्रेसले आफनो जित नदेखे पछि अनेक प्रकारका अफबा फैलाएको बताउनु भयो । नेकपा मालारानी ३ नम्बर वडा कमिटीले सुक्रबार आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै खड्काले जनतामाँझ आफुले गरेका काम लिएर जान नसकेपछि अनेक प्रचारबाजी भएको बताउनु भयो ।