सन्धिखर्कमा राष्ट्रिय शिक्षक संगठन ५ नं. प्रदेश समितिको अन्तक्रिर्या कार्यक्रम, चौतर्फी बिकासको निम्ति शिक्षामा आमुल परिवर्तनमा जोड

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची/मंसिर ८  । मुलुकको चौतर्फी बिकासको निम्ति शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागी हरुले जोड दिएका छन् ।
मुलुकमा आमुल परिवर्तन भए पनि पुरातनवादी शिक्षा प्रणाली यथावत् रहेका कारण शिक्षा क्षेत्रले गति लिन नसकेको भन्दै वक्ताहरूले शैक्षिक रुपान्तरणमा जोड दिए । राष्ट्रिय शिक्षक संगठन ५ नं. प्रदेश समितिको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित अन्तक्रिर्या कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले  राजनीतिक परिवर्तन सँगै शैक्षिक ,सामाजिक र सांस्कृतिक रुपान्तरण  गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा मन्तव्य राख्दै  नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता रामजीप्रसाद घिमिरेले बैज्ञानिक ,प्राविधिक र जनवादी शिक्षा मुलुकको आबस्यकता भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा भएको बिकृति र बिसंगतिको अन्त्य गरि गरिब तथा बिपन्न परिवारका बालबालिकाको शिक्षा क्षेत्रमा पहुँच पुर्‍याउनु पर्ने बताउनुभयो । प्रदेश सभाका सदस्य समेत रहनुभएका घिमिरेले शिक्षक पेशा निक्कै सम्मानित र मर्यादित पेसा भएको भन्दै आफ्नो पेशा र मर्यादालाई अझै उचो बनाएर लैजान आग्रह गर्नुभयो । 
कार्यक्रममा मन्तव्य राख्दै  नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिक अम्बिका चापागाईंले शिक्षकका समस्या प्रती राज्य उदासीन भएको बताउनुभयो । उहाँले वर्तमान सरकारले शिक्षकका सबैखाले समस्या समाधान गर्नेमा आफुहरु आसाबादी रहेको भन्दै आफुहरुले  अघि सारेका माग पुरागर्न आग्रह गर्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य एकदेव पन्थीले गुणस्तरीय शिक्षाको बिकासको निम्ति शिक्षकको मनोबल बढाउने कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले समान काममा असमान ज्याला तथा शिक्षक शिक्षक बीचको विभेद अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन ५ नं प्रदेश समितिका अध्यक्ष विष्णु पोख्रेलको अध्यक्षता र अर्घाखाँची जिल्ला अध्यक्ष धुर्व के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता पिताम्बर भुसाल ,प्याव्सनका केन्द्रीय सदस्य श्रीकृष्ण भुसाल लगायतका वक्ताहरुले मन्तव्य राख्दै  शैक्षिक रुपान्तरणको पक्षमा जोड दिनुभयो । 
यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठन ५ नं. प्रदेश समितिको पुर्ण बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले आन्तरिक संगठन ,शैक्षिक गुणस्तर बृद्धि र शैक्षिक समस्या समाधानका बारेमा निर्णय गरेको बैठकका सहभागी धुर्व के.सी. ले बताउनु भयो ।

अन्य समाचारहरु