सन्धिखर्क-गोरुसिंगे सडक २०३७ सालदेखि उस्तै, फराकिलो बनाउन जिल्लाकै जनप्रतिनिधिले वास्ता गरेनन्

सी. पी. खनाल  
सन्धिखर्क, अर्घाखाँची । २०३७ सालमा मानिसले खनेर बनाएको सडक हो–गोरुसिंगे–सन्धिखर्क सडक। अर्घाखाँची र गुल्मीको पश्चिम भेगको लाइफलाइन हो यो सडक।  ६८ किलोमिटर लामो सडकमा मुस्किलले गाडी ओहोरदोहोर गर्छन्।
तत्कालीन पर्यटनमन्त्री ढुण्डीराज शास्त्रीको पालामा बनेको यो सडक फराकिलो बनाउन ३९ वर्षसम्म कुनै योजना परेको छैन। जिल्लाको मुख्य लाइफलाईन फराकिलो बनाउन जिल्लाकै जनप्रतिनिधिले वास्ता गरेनन्।
मानबहादुर विक, पुष्पा भुसाल, टोपबहादुर रायमाझी पटक पटक सरकारमा गए, मन्त्री भए। चन्द्रबहादुर खड्का उज्ज्वल, चेतनारायण आचार्य, रामजी घिमिरे, निर्मला क्षेत्री, जाल्पा भुसाललगायतका नेता पनि शक्तिमा पुगे। तरपनि यो सडकको स्तरोन्नतिमा ध्यान दिएनन्।
२०६४ सालयता सबैभन्दा धेरैपटक सत्तामा पुगेका टोपबहादुर रायमाझी उपप्रधानमन्त्री सम्म भए। २०७४ सालमा भएको निर्वाचनमा राजनीतिक दलले सडक स्तरोन्नति गर्ने नारा बनाए। तर, विकासका एजेण्डा उठाएर चुनाब जित्ने उनीहरुले सडक फराकिलो पार्नेबारे पहलै गरेको देखिएन।
‘दुर्घटना भएको १÷२ दिन आवाज उठ्छ, घटना साम्मे भएपछि सबै कुरा हराउँछ,–सन्धिखर्कका माधव श्रेष्ठले भने। प्रत्येक चुनावमा नारा बनाउने सडककै बेहालका कारण २०६८ सालयता भएका दुर्घटनामा परी १ सय २९ जनाले ज्यान गुमाएका छन्।
०६८ यता नरपानी क्षेत्रमा बर्सेनी सवारी दुर्घटना भएका छन्। प्रहरीको तथ्यांकअनुसार ०६८ मा २१, ०६९ मा १२ र ०७० मा १७ जना यात्रुले दुर्घटनामा ज्यान गुमाएका थिए। त्यस्तै ०७१ मा ३१ र ०७२ मा ११ जनाको मृत्यु भएको थियो।
०७३÷७४ मा भएका तीन वटा सवारी दुर्घटनामा दुई जनाको निधन भयो भने १८ जना घाइते भए। ०७४÷७५ मा भएका सात वटा दुर्घटनामा ६ जनाको मृत्यु र १४ जना घाइते भए। गत ०७५÷७६ मा भएका सात वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भयो भने ३८ जना घाइते भए। चालु वर्षमात्रै गत महिनामा भएको एउटा दुर्घटनामा ६ जना मृत्यु भएको थियो।
यसरी भयो बुधबारको दुर्घटना
गोरुसिंगे–सन्धिखर्क सडकखण्डका साना र साघुरा घुम्ती फराकिलो बनाउन गाडी रोकेरै काम भईरहेको छ। बुधबार पनि दिउसो ३ घण्टाजति गाडी रोकेर काम भयो। करीब ४ बजे काम रोकेर गाडी चले।
२–३ वटा गाडी अघि बढेपछि बुटवल तिरबाट आएका गाडी पास गराउनु पर्छ भनेर बाईक लिएर जादै थिए– सोही सडक विस्तारमा खटिएका प्रहरी चौकी नरपानी ईन्चार्ज सूर्य प्रसाद पन्थी भन्छन्–म भन्दा करीब सय मिटर अगाडीको गाडी एक्कासी भिरबाट खस्यो, मत हेरेको हेरै भएँ।’
गाडी खसेपछि उनले सबैतिर हारगुहार गरे। प्रहरी, सेना, स्थानीय र अरु गाडीका यात्रु आएर उद्धार गरे। राती ८–९ बजेसम्म उद्धार चल्यो। दुर्घटनामा १९ जनाले ज्यान गुमाए, १८ जना घाईते भए।
पन्थी भन्छन्–मेरो विचारमा गाडीको टाईरेट वा स्टेरिङ्गका कारण दुर्घटना भएको हो, घुम्तीमा गाडी मोड्न स्टेरिङ घुमाएपनि स्टेरिङ घुमाउने टाईरेटले काम नगरेका कारण गाडी घुम्तीमा नमोडिएर सिधै भीरतिर गएको हुनुपर्छ।
साँघुरो छ सडक
गोरुसिंगे–सन्धिखर्क सडकखण्ड एकदमै साघुरो छ। दुर्घटना भएको भीर नजिकको सडक त झनै साघुरो छ। यो सडक औसतमा साढे १० फुटको छ। साढे १० फुटको सडकमा दुईतर्फी गाडी चल्नु त परेको कुरा, एकतर्फी रुपमा पनि कठिन छ।
‘यति साँघुरो बाटो छ, गाडी समेत राम्रोसँग घुमाउन मिल्दैन–नरपानी ईन्चार्ज पन्थीले भने –सडक जोखिमपुर्ण छ, त्यसैमा प्राविधिक कमजोरी भयो भने त दुर्घटना हुन बेर लाग्दैन।’
उनी नरपानी आएदेखि ३ वटा दुर्घटना भए। उनी सम्झन्छन् – म आएपछि नै ३ वटा दुर्घटनामा २५ जनाको मृत्यु भयो। असोज २० मा लंका यातायातको स्कर्पियो दुर्घटना हुँदा ३ जनाको मुत्यु भयो, कार्तिक २० मा कार पल्टिएर ३ जनाको मृत्यु भयो र बुधबार त्यत्रो घटना भयो।’
सडक साँघुरो हुँदा पनि फराकिलो बनाउन पहल नभएकोमा जिल्लाबासी आक्रोशित छन्। ‘सडक साँघुरो भएर सधै दुर्घटना हुन्छ भन्ने सबैलाई थाहा छ तर, सडक बनाउनेतर्फ कसैको ध्यान जाँदैन,–सन्धिखर्कका व्यवसायी सन्तोष बस्नेतले भने–दुर्घटना भएपछि दुईचार दिन हल्ला हुन्छ, त्यसपछि कसैले चासो दिँदैन।’
शोकमा डुब्यो अर्घाखाँची
सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा भएको दुर्घटनामा परी १९ जनाको ज्यान गएपछि जिल्ला शोकमा डुबेको छ। सन्धिखर्क बजारका पसल खुलेनन्। दुर्घटनामा परी मृत्यु भएका १९ जना मध्ये ८ जनाको शव सन्धिखर्कको गच्छेघाटमा सामूहिक दाहसंस्कार गरिएको छ।
थापा, पुरी, गैरे दम्पती सन्धिखर्क नगरपालिका वडा नं. २ की ५९ वर्षीय सिता सार्की, सन्धिखर्क नगर वडा नं. ७ की मोनिका खडका, सन्धिखर्क नगरपालिका वडा नं. ७ का ५६ वर्षीय शिवलाल भट्टराई र ५४ वर्षीय बलाराम भट्टराइको गच्छेघाटमा दाहसंस्कार गरिएको हो। धनचौर, सन्धिखर्क, खाँचीकोट गाउँ शोकमा छ।
छानबिनका लागि समिति गठन
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्बपक्षिय बैठकले घटनाको छानबीनका लागि समिति गठन गरेको छ। प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले मंगलबार नरपानी ६ मा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाएको छ।
बैठकले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ। समितिले १५ दिन भित्र प्रतिवेदन बुझाउने निर्णय बैठकले गरेको छ।
जसको सदस्यहरुमा सन्धिखर्क नगरपालिका, जिल्ला सरकारी वकिलको कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, सन्धिखर्क नगरपालिका वडा न ६, जिल्ला ट्राफिक कार्यालय, पश्चिम नेपाल यातायात व्यवसायी प्रा.लि, देउराली यातायात प्रा.लि, नेपाल पत्रकार महासंघ लगायत रहेका छन्।
बैठकले सडक दुर्घटना न्युनीकरण गर्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, यातायात सुधार र दुर्घटना न्यून गर्न सुझाव समिति गठन गर्ने, सबै यातायात समितिले चालक र सहचालकहरुलाई १५ दिन भित्र तालिम तथा प्रशिक्षण दिने निर्णय भएको छ।
यस्तै मौजुदा नीति नियमको प्रभावकारी पालना गर्ने, सडकको भारवहन क्षमता अनुसार मात्र मालबाहक गाडीलाई मात्र परमिट दिन यातायात कार्यालयलाई अनुरोध गर्ने, वैकल्पिक सडकहरु प्रयोग गर्ने लगायतका निणर्यहरु पनि बैठकले गरेको छ।
मृत्यु हुनेहरुमा:
१) शिवलाल भट्टराई,  वर्ष ५६ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
२) माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
३) शोभाखर पोख्रेल, ३ महिनाको बालक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई
४) बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
५) सिता बस्नेत,  २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु
६) शैलेस थापा, वर्ष २२ भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९  , ठुला डेभा  ( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )
७) छवीलाल गैरे, वर्ष ५४  भूमिकास्थान नगरपालिका – १० 
८) वसन्त भन्ने ओम बहादुर थापा (चालक), ३२ वर्ष  गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने 
९) सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत), (सवारी धनी ) वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २ (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )
१०) मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका –  ७ खाचिकोट काउले  
११) राज कुमार महत, वर्ष २७  (सशस्त्र प्रहरी जवान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा कार्यरत भलिबलका राष्ट्रिय खेलाडी)  गुल्मी धुर्कोट गा.पा.२   पलधारा साबिक ३बन्ज्याङ   
१२) सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २ 
१३) सिता घिमिरे  वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१४)  बिष्णुमाया गैरे   वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१५) मैघनाथ जैसी भण्डारी   वर्ष ५१ भूमिकास्थान नगरपालिका ७
१६) मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १ 
१७) कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८
१८) लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी  
१९) हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी 
 घाईते हुने र उनिहरुको अवस्था:-
चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :
१) विष्णु बहादुर अधिकारी, वर्ष ४२, सन्धिखर्क नगरपालिका – ५ वाङला   अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।
२) नन्द बहादुर बि.क,   वर्ष ६०/६५ सन्धिखर्क नगरपालिका, अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।
३) रिजन कुँवर, वर्ष ३ सन्धिखर्क नगरपालिका – ६  खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।
४) गणेश पुरी, वर्ष १ शितगंगा नगरपालिका वार्ड  नं.६ खाँचीकोट – टाउकोमा चोट, अवस्था- मध्यम ।
५) सपना कुँवर, वर्ष २३ सन्धिखर्क नगरपालिका –  ६  गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।
६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।
भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-
१) कृष्ण बि.क. वर्ष ४१,  पाणिनी गाउँपालिका वार्ड नं.७  चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।
२) विष्णु बि.क., वर्ष ३५  पाणिनी गाउँपालिका वडा नं.७  दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।
३) जिवन बि.क., वर्ष २५, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ डेभा अवस्था- समान्य ।
४) हुम बहादुर अधिकारी, वर्ष ३७ सन्धिखर्क नगरपालिका – ५ वाङला  ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।
५) कमल मुखिया, वर्ष ३२ सन्धिखर्क नगरपालिका – ८  अवस्था- सिरियस ।
६) सरस्वती भट्टराई, वर्ष २३  सन्धिखर्क नगरपालिका – ४  दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।
७) अंकीत थापा, वर्ष १५, सन्धिखर्क नगरपालिका – ४  टाउकोमा चोट, अवस्था- मध्यम ।
८) स्पर्ष पोखरेल, ३ वर्ष,  कपिलवस्तु बाणगंगा नगरपालिका  – टाउकोमा चोट, अवस्था- मध्यम ।
९) विमला पोखरेल,  वर्ष २४ कपिलवस्तु बाणगंगा नगरपालिका   ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा)
बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ
१)  प्रशान्त सुबेदी, बर्ष ३३  दाङ राप्ति गा.पा.९  टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।
अन्य घाईते
१. एन्जल भट्टराई,  वर्ष ३ सन्धिखर्क नगरपालिका – १  टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा सन्धिखर्क नगरपालिका – २ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।
२. लोकनाथ पाण्डे, वर्ष १९  छत्रदेव गाउँपालिका वडा नं. ७  हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)

अन्य समाचारहरु