नरपानीमा रात बिताउन आउने भारतीय पर्यटक बढे

वीरेन्द केसी कान्तिपुर 
नरपानी, अर्घाखाँची ।  नरपानीमा रात बिताउन आउने भारतीय पर्यटक बढेका छन् । यहाँबाट हिमशृंखला, चारैतिर हरियाली र सुन्दर बस्ती देखिन्छन् । स्थानीय खानाको स्वाद उनीहरूको रोजाइमा पर्ने गरेको छ । नजिकै रहेको सुपा देउराली मन्दिर दर्शनपछि उनीहरू डाँडामा रहेको नरपानी–सुपादेउराली रिसोर्टमा बस्ने गरेका छन् । बिहान उठेपछि हिमाल देखिन्छ । हरिया डाँडाको अवलोकलन गर्न सकिन्छ । 
पर्यटक अग्ला पहाडमा पुगेर फर्किन्छन् । मनोरम दृश्यसँगै नेपालीे खानाको स्वादमा रमाउँछन् । सामान्य र कम खर्चालु भारतीय पर्यटक यहाँ आउने गरेका हुन् । कपिलवस्तुको कृष्णनगरबाट पत्थरकोटसम्म तराई छ । त्यहाँबाट पहाड उक्लेर दुई घण्टामै नरपानी पुग्छन् । धेरै भारतीय धार्मिक पर्यटकीय स्थल सुपादेउराली आउँछन् । त्यहाँ दर्शन गरेपछि नरपानी आएर बस्छन् ।
नरपानीको डाँडामा डेढ वर्षदेखि करिब तीन करोड रुपैयाँ लगानीमा ठूलो रिसोर्ट खुलेपछि भारतीय पर्यटकलाई बास बस्ने गतिलो ठाउँ बनेको छ । सामान्य खर्चालु पर्यटक दिनभर मनोरम दृश्य हेरेर नरपानी र सुपादेउराली मन्दिर आसपासका होटलमा बस्छन् । कोही मन्दिरमा दर्शनपछि नरपानी रिसोर्टमा प्रसाद ग्रहण गरेर फर्किन्छन् । अघिल्लो वर्षमा भन्दा अहिले दोब्बर पर्यटक भित्रिएको रिसोर्ट सञ्चालकले बताए । अहिले अफसिजन हो । गर्मी छल्न दुई–तीन दिन बास बस्ने गरी आउँछन् । पहाडको अग्लो चुचुरोमा खुलेको रिसोर्टबाट सुन्दर हरियाली मनोरम दृश्य देखिने भएकाले भारतीय पर्यटकको आकर्षण बढ्दो छ ।
परिवारसहित आएकाले छोराछोरीको आग्रहमा बसाइँ लम्ब्याउँछन् । पर्यटकलाई नर्तनाञ्चल पहाडका मनोरम दृश्य, मठमन्दिर देखाउन स्थानीय गाडइको व्यवस्था मिलाइएको छ । यस क्षेत्रमा रिसोर्ट र होटल खुल्ने क्रम बढ्दो छ । सुपादेउराली लाहुरे टाँसेको ठाउँमा पनि होटल सञ्चालन भएको छ । सुपादेउराली आउने तीर्थालु पर्यटकलाई लक्षित गरेर होटल खोलेको सञ्चालकले बताए । भारतबाट आउने तीर्थालुले फोन गरेरै कोठा बुकिङ गर्छन् । मन्दिरमा वलि चढ्छ । चढाएको प्रसाद ग्रहण गर्न होटलमा बस्छन् । कोही बिहान आएर मन्दिर दर्शनपछि खाना खाएर बेलुकापख फर्कन्छन् । दुई वर्षभित्रमा यस क्षेत्रमा १० वटा होटल खुलेका छन् ।
सुपादेउराली, खाँचीकोट दरबार, नरपानी, नर्तनाञ्चल पहाडका विभिन्न दृश्य अवलोकन र सदरमुकामसम्म भारतीय पर्यटक पुग्छन् । धेरै पर्यटक भित्रिन थालेपछि नर्तनाञ्चल पर्वतको चुचुरोमा पुग्न पदयात्रा निर्माण हुँदैछ । पर्यटकले स्थानीयलाई कृषि उत्पादनमा जाँगरिलो बनाएका छन् । स्थानीय खानाका लागि तरकारी खेती गर्ने, लोकल कुखुरा पाल्ने र अन्न उत्पादन गर्ने हुँदा कृषक उत्साहित भएको नरपानीका स्थानीय ओमबहादुर पाण्डेले बताए । ‘पर्यटकले माग गरेजस्तो पूर्ण स्थानीय खाना खुवाउन सकेका छैनौं,’ उनले भने, ‘प्रयास भने जारी छ ।’

अन्य समाचारहरु