अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले स्वर्ण पदक बिजेता कमल श्रेष्ठलाई नगद रू २५ हजार सहित सम्मान गरेको छ ।
सन्धिखर्क नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसालले श्रेष्ठलाई नगद रू २५ हजार सहित सम्मान गरेका हुन् ।
यसअघि हिजो सन्धिखर्क नगरपालिका –१२, डिभर्ना स्थायी घर भएका स्वर्ण विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजा सहित सम्मान गरिएको थियो । दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई अर्घाखाँचीबासीले भव्य स्वागत गरेका थिए ।
उनले तेक्वान्दोको पुम्से (एकल २४–२९ वर्ष) तर्फ स्वर्ण र तेक्वान्दाकै समुहगत विधामा कास्य पदक जितेका थिए । उनलाई उद्योग वाणिज्य संघ अर्घाखाँची, सदरमुकाम सन्धिखर्कका स्थानीय बासिन्दा र नेवार समुदायले फुलमाला, अबिर, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेका थिए ।
उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, उपाध्यक्ष नेत्रप्रसाद भुसाल, महासचिव प्रदिप मिश्र लगायतले जिल्लाको गरिमा बढाएको भन्दै सम्मान पत्र, खादा र फूलमालाले सम्मान गरेका थिए ।
यस्तै लंका यातायात प्रा. लि. ले स्वर्ण पदक बिजेता नेपाल प्रहरीका प्रहरी जवान कमल श्रेष्ठको लागि आजीवन यातायात निशु:ल्क गर्ने घोषणा गरेको छ। नेपाल प्रहरीका श्रेष्ठले पुम्सेमा संवरण र सामुहिक तेक्वान्दाेमा कास्य पदक जित्नुभएकाे हाे ।