अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नरपानीमा गत मंसिर ११ गते भएको यात्रुबाहक बस दुर्घटनाको प्रमुख कारण मानविय त्रुटी रहेको छानविन समितीले निस्कर्ष निकालेको छ ।
सिंगो जिल्ला नै शोकमा डुब्ने गरि दुर्घटनापछि घटनाको अनुसन्धान गर्न बनेको छानबिन टोलीले ओभर कन्फिडेन्ट र तिब्र गतिकै कारणले दुर्घटना भएको निष्कर्ष निकालेको हो । दुर्घटना भएलगत्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको पहलमा बसेको सर्वपक्षिय बैठकले यस्ता घटनालाई न्युनिकरण गर्न सहज होस भन्दै मुलुकमै पहिलो पटक अनुसन्धान टोली गठन गरि १५ दिनभित्र प्रतिवेदन गर्न आदेश दिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा गठित समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन आज एक कार्यक्रमका बिच प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे र प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई हस्तान्तरण गर्दै सार्वजनिक गरेपछि दुर्घटनाको कारण पत्ता लागेको हो ।
सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्वरको यात्रु बाहक बस सन्धिखर्क ६ नरपानीमा दुर्घटना हुँदा १९ जनाको ज्यान जानुका साथै १८ जना घाइते भएपछि दुर्घटनालाई न्युनिकरण गर्न सहज होस भन्दै घटनाको अनुसन्धान गरिएको प्रतिवेदन बनाउने टोलीका एक सदस्य तथा पत्रकार गणेश खनालले जानकारी दिनुभएको छ । छानविन समितीले सिंगल लेनको सडकको मापदण्डमा कुनै कमि नभएकोले सडकका कारण दुर्घटना नभएको निष्कर्ष निकालेको छ भने प्राविधिक कारणले पनि उक्त बस दुर्घटना नभएको दाबी गरेको छ ।
यस्तै उपचारमा रहेका अधिकांश घाइतेहरुलाई लिखित रुपमा सोधिएको प्रश्नको उत्तरमा समेत सडकको मोडमा बसको गति तीव्र रहेकाले स्टेरिड मोड्न नसक्दा गाडी सिंधै भिरबाट खसेको प्रतिक्रिया दिएका छन् । आजपनि सर्वपक्षिय बैठक बोलाई प्रतिवेदनको बारेमा जानकारी दिंदै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले सडक दुर्घटना न्युनिकरणको लागी सबैले आ–आफ्नो जिम्मेवारी कुशलतापुर्वक पुरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।