लक्ष्मण घिमिरे
मालारानी, अर्घाखाँची । अर्घाखाँचीमा मन्दिरलाई घंटा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ । प्रदेश सांसद तथा नेपाली कांग्रेस संसदिय दल प्रदेश–५ का सचेतक निर्मला क्षेत्रीले मालारानी गाँउपालिका वडा नम्बर–३ मा पर्ने मालारानी मन्दिरलाई घंटा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गर्नुभयो ।

मालारानी मन्दिरलाई ४० किलोको घंटा हस्तान्तरण गर्दै सांसद क्षेत्रीले लुम्बिनी क्षेत्र हुँदै अर्घाखाँचीको सुपादेउराली दर्शन गर्न आउने पर्यटकलाई मालारानीसम्म लैजाने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । ‘मालारानी मन्दिर वरिपरी पर्यटक आकर्षण गर्ने वातावरण छ, उहाँले भन्नुभयो ,‘पर्यटन क्षेत्रको विकासका लागी पुर्वाधार विकासमा जोड दिनुपर्छ ।’ भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले गरिएको कार्यक्रममा बोल्दै सचेतक क्षेत्रीले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको कला, संस्कृती र इतिहाससंग जोड्नु पर्ने बताउनु भयो । पर्यटक बढ्दा नेपाललाई फाईदा नै हुने भन्दै उहाँले यसलाई सफल बनाउनु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले समग्र मालारानीको विकासका लागी पर्यटन क्षेत्रको विकास जरुरी रहेको बताउनु भयो । कृषी र पर्यटन नै यहाँको विकासको आधार रहेको भन्दै उहाँले यो क्षेत्रलाई पालिकाले विशेष प्राथमिकतामा राखेको बताउनु भयो ।

मुलुकको समग्र विकासका निम्ती धर्म र संस्कृतीलाई पर्यटन क्षेत्रसंगै जोड्नु पर्ने काठमांडौको पशुपती अन्नपुर्णा आश्रमका संस्थापक प्राध्यापक डा.जगदिश वैद्यले बताउनु भयो । काठमांडौको पशुपती अन्नपुर्णा आश्रमले घंटा सहयोग गरेको थियो । प्राध्यापक डा.वैद्य लगायतको टोलीको उपस्थितीमा मन्दिर व्यवस्थापन समितीलाई घंटा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला क्षेत्री, वडा नम्बर–२ का वडा अध्यक्ष बिष्णु प्रसाद भुसाल बिनोद, वडा नम्बर–३ का वडा अध्यक्ष शोभाखर खनाल, वडा नम्बर–४ का वडा अध्यक्ष बिष्णु पोख्रेल, वडा नम्बर–५ का वडा अध्यक्ष शोभाखर भुसाल, नेकपा नेता जनार्दन खनाल, पशुपती अन्नपुर्णा आश्रमका पदाधिकारी, रिर्पोटर्स क्लबका प्रदेश प्रमुख रामकुमार क्षेत्री, पत्रकार श्याम घिमिरे, रुद्रमणी भुसाल, लक्ष्मण घिमिरे, सागर महत लगायत स्थानियवासीको उपस्थिती रहेको थियो ।