गणेश बेल्बासे संगम
सिद्धारा, अर्घाखाँची । माघे सक्रान्तिको अवसरमा लाग्दै आएको सिद्धारा स्थित बराहदह माघी मेलाको तयारी शुरु गरिएको छ । आगामी माघ १ देखि २ गते २ दिन सम्म लाग्ने मेलाको तयारीका लागि मूल आयोजक समिति गठन गरिएको हो ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ९ सिद्धारा स्थित बराहदहमा हरेक वर्ष माघे संक्रान्तिका अवसरमा माघि मेला लाग्ने गर्दछ । आगामी माघ १ गते देखि २ गते २ दिन सम्म संचालन हुने मेलालाई सुसम्पन्न गर्नका लागि मुल आयोजक समिति गठन भएको छ ।
वडा नं ९ का अध्यक्ष भिम बहादुर केसीको अध्यक्षतामा ४५ सदस्यीय मुल आयोजक मेला समिति गठन गरिएको छ । जसको सदस्यमा वडा सदस्य खुम बहादुर लुईचे, डिलिसरा राना, पवित्रा परियार वडा कर्मचारी पर्सु गाहा, सिंह घर्ति लगाएत स्थानिय युवा, समाजसेवी तथा बुद्धिजिवी रहेका छन ।
गोही पाइने धार्मिक दहको संरक्षण तथा पर्यटकिय रुपमा प्रवर्धन गर्न विगत देखि माघी एवम् सांस्कृतिक मेला आयोजना हुदैं आएको छ । पूर्व पश्चिम सडक दाङ जिल्लाको धानखोला देखि करिब १० कि।मि। उत्तरमा पर्ने ठाडाखोला र लामिदमारको बीचबाट बग्ने मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित दह छ । किवदन्ति भनाई अनुसार दहमा बराह देवताको शक्ति रहेकोले त्यस दहको नाम बराहदह राखिएको हो । दहमा स्नान गरी बराह भगवानसगँ बर मागेमा वा भाकल गरेमा सोंचेको पुग्ने, जोडी मिल्ने, पापनष्ट एवम् रोगव्याधी निको हुने विश्वास गरिन्छ ।
धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् र माघ १ गतेका दिन बिहानै देखि दर्शालु भक्तजनको घुइँचो लाग्ने गर्छ । यस्तो महत्व बोकेको यस दहलाई धार्मिक एवम् पर्यटकिय रुपमा विकास एवम् प्रवर्धन गर्न विगत ५ वर्ष अगाडि देखि औपचारीक रुपमा बराहदह मेलाको आयोजना गरिदै आएको छ ।
दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै पक्ष लाग्नु पर्ने वडा अध्यक्ष भिम केसीले बताउनु भयो । बाराहदहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार र प्रवर्धनको लागि यस वर्ष पनि सभ्य र भव्य रुपमा छैठौं बराहदह माघि एवम् सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको केसीले बताउनु भएको छ ।
कार्यक्रम सफल बनाउन वडा नं। ९ मा सकृय रहेको प्रगतिशिल युवा क्लब र वडा नं ११ को उज्यालो सामाजिक विकास संस्थालाई जिम्मेवारी प्रदान गरिएको छ । अतिथी सत्कारमा सिद्धारा कृषि तथा पशु विकास महिला सहकारीलाई जिम्मेवारी दिएको छ ।
कार्यक्रममा सांस्कृतिक झाँकी प्रर्दशनका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थिती रहने आयोजकले बताएको छ । स्थानिय कला प्रतिभाको उजागर गर्ने उद्देश्यले नृत्य प्रतियोगिता समेत आयोजना गरिएकोले प्रतिभाशाली इच्छुकहरुलाई सहभागीताको लागि आयोजकले अनुरोध गरेको छ ।जिल्लामा गोही पाइने एक मात्र स्थल भएपनि सोही अनुसार यसको प्रचार प्रसार गर्न नसक्दा ओझेलमा परेकोले दहको विकास तथा प्रचार प्रसारको लागि सरोकारवाला निकाय लगाएत विभिन्न संचार माध्यमहरु लाग्नु पर्ने वडा केसीले बताउनु भयो ।
बरादहको व्यापक प्रचार(प्रसार तथा प्रर्वद्धनमा माथिल्लो निकाएको नजर पुगोस् भन्दै यस वर्षको छैठौं माघि एवम् साँस्कृतिक मेलाको अवलोकन गर्न पूर्व उपप्रधान मन्त्रि तथा प्रतिनिधी सभाका सांसद टोप बहादुर रायमाझी सहित राष्ट्रिय सभाका सांसद चन्द्र बहादुर खड्का उज्जल, ५ नं। प्रदेशसभाका ससंद चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरे लगाएत जिल्ला समन्वय, नगर र वडाका सबै जनप्रतिनिधिको समेत उपस्थिती रहने शितगंगा ९ का वडा अध्यक्ष भिम बहादुर केसीले बताउनु भयो ।