अर्घाखाँचीमा यस वर्ष करिव १६ करोडको सुन्तला उत्पादन, सबैभन्दा बढी बुटवलमा निर्यात

 सुरज घिमिरे
चुत्राबेशी, अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष करिव १६ करोडको सुन्तला उत्पादन हुने जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । 
सुन्ताल, मौसम, किन्नु सुन्तला जातको फलफुल गत वर्ष २५ करोड ५० लाखको सुन्तला उत्पादन भएकोमा यस वर्ष पोहोरको तुलनामा घटेको छ । जिल्लामा उत्पादित सुन्तला ६० प्रतिशत जिल्लामै खपत हुने र ४० प्रतिशत जिल्ला बाहिर निर्यात हुने गरेको छ । उत्पादन भएको सुन्तला सबैभन्दा बढी बुटवलमा निर्यात हुने गरेको छ । जिल्लामा १२ सय हेक्टर क्षेत्रफलमा सुन्तला जातको फलफुल खेती गरिएको छ । जस्मा ८ सय हेक्टरमा सुन्तला र ४ सय हेक्टरमा मौषम, किन्नु, लगायतका फलफूूल उत्पादन भएको छ । सुन्तला बिक्रि गर्नकालागि कृषकहरुलाई कुनै समस्या छैन । अहिले बुटवल, पाल्पाका व्यपारीहरुले घरमै आएर बोटबाटै सुन्तला खरिद गर्ने गरेका छन् । रुखबाटै सुन्तला बिक्रि हुन्छ कुनै समस्या छैन ।
भारतमा सिपाहीको जागिर गर्दै गर्दा खान नपाएर आएका नेपाली भन्ने असभ्य शब्द सुनेका कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किएका पाणिनि गाँउपालिका १ पणेनाका ७४ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला कृषक बन्न सफल भएका छन्। २०२७ सालमा भारतमा जागिर गर्दै गर्दा भारतीयले नेपालीहरुप्रति गरेको घृणाको वचन सहन नसकि जागिर चटक्कै छाडेर घरमै फर्किएका पौडेल नेपाली माटोमा केहि गरेर देखाउन सक्छु भन्ने दृढ संकल्पका साथ सुन्तला खेती गर्न सुरु गरे । उनी आफु मात्र सुन्तला लगाएनन । सारा गाँउका मानिसहरुलाई नै सुन्तला खेती गर्न प्रेरित गरे । अभियानका साथ आफै डोकोमा बोकेर घर–घरमा सुन्तलाका बिरुवा पुर्याए । पैसा हुनेलाई बिरुवा पैसोमा बेचे नहुनेसँंग श्रम साटे भने कसैसँगबाट अन्न, डोका नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घर–घरमा लगाउन अनुरोध गरे । कसै–कसैलाई निःशुल्क बिरुवा दिएर पनि सुन्तला लाउन प्रेरित गरे । उनले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट वार्षिक ६ लाख रुपैँया भन्दा बढि आम्दानी हुने गरेको र आफ्नो परिबारलाई मस्तीले खान लाउन पुगेको बताए ।
अहिले सुन्तला राम्रो फलेकोले ६ लाख भन्दा बढि आम्दानी हुने उनको भनाई छ । उनको सुन्तला बगैचामा अहिले झण्डै साढे ५ सय सुन्तलाका बिरुवा रहेका छन् । बारी, खेत, खर्क सबैमा सुन्तलाको खेती गरेका छन । एक ब्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पाणिनि गाँउपालिका को वाड नम्वर १ र २ मा समेत प्रमुख उत्पादनको स्रोत बनेको छ । यस्तै पाणिनि गाँउपालिका–१ पणेना सिम्लेका रेवति पौडेलले सुन्तला खेतीबाट वार्षिक १० लाख आम्दानी गर्छन् । उनले करिव ३० रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । यो वर्ष पनि उनले करिव ११ लाखको सुन्तला उत्पादन गरेका छन् । उनले सुन्तला खेतीबाट आफ्नो जिवीका चलाउँदै आएका छन् । उनीमात्रै नभएर यहाँका करिव ५ सय घरपरिवार यही पेशामा आश्रित छन् । कम लगानी र मेहेनतमा सुन्तला खेती गर्न पाएपछि कृषकहरु यो पेशा प्रति वढि आर्कषित भएमा हुन । ‘भिरालो जमिनमा पनि यसको उत्पादन राम्रो हुन्छ’, पौडेलले भने, ‘राम्रो आम्दानी हुने भएपछि सुन्तला खेती गर्न लागेको हौं’ ।
उनले यस वर्ष मौसम अनुकुल भएका कारण सुन्तला उत्पादनम वृद्धि भएको बताए । अन्य अन्न बाली लगाउदा वर्षमा ६ महिना पनि खान नपुग्ने भएपछि अहिले यहाँका अधिकांश कृषकहरुले व्यवसायीक सुन्तला खेती गर्न थालेका छन् । पणेनामा व्यवसायीक रुपमा खेती नगर्नेहरुले पनि वार्षिक ६० हजार देखि १ लाखसम्मको आम्दानी गर्ने गरेका छन । अनुकूल वातावरण रहेकाले सुन्तला खेतीमा लागेका कृषकहरुको जीवनस्तर नै माथि उठ्न थालेको हो । यसअघि खाद्यान्न बालीमा मात्रै जोड दिँदै आएका अर्घाखाँचीका कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका हुन् । कम मिहिनेतमै अधिक उत्पादन गर्न सकिने भएपछि सुन्तला खेती किसानहरुको रोजाइमा पर्दै गएको हो । ६ मुरी मकै पनि उत्पादन नहुने बारीमा अहिले सुन्तला खेती गर्दा ६ लाख रुपैयाँभन्दा बढीको आम्दानी गर्न सफल भएको पाणिनी गाउँपालिका सिम्लेका नारायणप्रसाद पौडेलको भनाई छ ।
पणेनाँगै पटौटी, खिदिम अर्घातोष, भगवती मरेङ, हंसपुर, ढिकुरा खा“चीकोटमा सुन्तला खेतीको पकेट क्षेत्र हुन । कृषकहरु विरुवा उत्पादन गरेर पनि राम्रो आम्दानीमा लागेको छन् । अन्य गाविसमा पनि केहि कृषकहरुले व्यवसायिक रुपमा खेती गर्न थालेका छन् । उत्पादित सुन्तलाले सोँचे भन्दा पनि राम्रो बजार पाउन थालेपछि यो खेतीतर्फ कृषहरुको मोह बढ्न गएको हो । कृषहरुले सुन्तला बजारसम्म पनि लैजान नपर्ने बताउँछन् । व्यापारीहरु कृषकहरुको बारीमै आएर सुन्तला खरिद गर्ने गरेका छन् । जिल्लामा उत्पादन भएको सुन्तला सबै भन्दा भन्दा बढी वुटवल लैजाने गरिएको कृषकहरुको भनाइ छ । वुटवल बाहेक कपिलवस्तु, पाल्पा, गुल्मी र भारतका केहि ठाउँमा पनि यहाँको सुन्तला निर्यात हुने गर्दछ ।
अधिकांश परिवारले सुन्तलाबाटै प्राप्त आम्दानीले घरखर्च राम्रोसँग धानेका छन् । कृषकले सुन्तलाको मूल्य पनि राम्रो पाएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गइरहेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेशकुमार मिश्र बताउँछन् । सुन्तला उत्पादनमा किसानलाई तालिमसँगै अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानहरुको माग छ ।
तस्वीर: प्रेमनारायण आचार्य