अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आसन्न चैतको पहिलो हप्ता संघियता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने योजना बनाएको अखिल छैठौंले देश ब्यापी तयारी थालेको छ ।
काठमाडौं केन्द्रित आन्दोलनलाई सफल पार्न अर्घाखाँचीमा पनि तयारी थालिएको अखिल छैठौंका जिल्ला अध्यक्ष पुरन नेपालीले जानकारी दिनुभएको छ । जस अन्तरगत अखिल छैठौंले सनिबार भुमिकास्थान नगरपालिकाको दोस्रो नगर भेला सम्पन्न गरेको छ ।
नगर अध्यक्ष आकाश भाटको अध्यक्षता,प्रकाश चुंदालीको स्वागत मन्तव्य र शुस्मा भुसालको संचालनमा सम्पन्न कार्यक्रममा अखिल छैठौंका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई,राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा र जिल्ला अध्यक्ष पुरन नेपालीले प्रशिक्षण मन्तव्य राख्दै राष्ट्रियताको पक्षमा र सामाजिक बिकृतिका बिरुद्ध युवा बिद्यार्थीहरु एक हुनुपर्नेमा जोड दिनुभएको छ ।
भेलाले प्रकाश चुंदालीको अध्यक्षतामा १५ सदस्यिय अखिल छैठौं भुमिकास्थान नगर समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा विश्व घ.म.,सचिव सुस्मा भुसाल,सह–सचिव अशोक अधिकारी र कोषाध्यक्षमा असल सुनार सर्वसहमत निर्बाचित हुनुभएको छ ।