पाणिनी गाउँपालिका–२ र ७ मा वार्ड कार्यालयमैं योजना सम्झौंता, भुक्तानीकालागि बैंक खाता खोलिए

वीरेन्द्र केसी कान्तिपुर
पाणिनी, अर्घाखाँची — आफ्नो ठाउँका लागि छुट्याइएका योजना सम्झौता गर्न उपभोक्ता समितिले गाउँपालिकाको केन्द्र धाउँनु पर्ने वाध्यता टरेको छ । 
योजना सकिएपछि रकम भुक्तानीका लागि सदरमुकाम जानु पर्दैन । पाणिनी गाउँपालिका–२ र ७ मा वडा कार्यालयमैं योजना सम्झौंता भइरहेको छ । भुक्तानीकालागि बैंक खाता खोलिएको छ । यसले उपभोक्तालाई सहज भएको छ । ‘एउटा योजनाकालागि उपभोक्ता समितिका पदाधिकारी धाइरहनुपर्ने र छिटो काम नहुने समस्या देखियो,’गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले भने, ‘सहजताकालागि वडामै सम्झौंता गर्न थालेका हौं ।’ दुई वडाका धेरै योजनामा सम्झौता भइसकेको छ ।
 
ग्लोबल आईएमई बैंकले वडामै गएर उपभोक्ता समितिको खाता खोलेको छ । अब ९ वटै वडामा पुगेर योजना सम्झौंता गरिने उनले बताए । ‘सम्झौता गर्दा कागज मिल्दैनन्,’ उनले भने, ‘अहिले सजिलो भएको छ ।’ करिब ५ सय योजना मध्ये १ सय ३५ वटामा सम्झौता भएर काम अगाडि बढेको र थप योजना पनि सम्झौताकै प्रक्रियामा रहेको पौडेलले बताए । वडा नम्बर ७ का अध्यक्ष गुणाखर अधिकारीले उपभोक्ता समितिले फाइल बोकेर गाउँपालिकाको केन्द्र जाने र कागज नमिल्दा बेहार्नुपर्ने हैरानी कम भएको बताए । 
असार मसान्तमा योजना सम्झौता गरी हतारमा गरिने कामप्रति प्रश्न उठेकाले गाउँमै पुगेर योजना सम्झौता गरिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए । 

अन्य समाचारहरु