सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा, सन्धिखर्कको सडक विवाद यथावत

लक्ष्मण घिमिरे
सन्धिखर्क,  अर्घाखाँची । गौरवको आयोजनाका रुपमा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा अँगाडी बढेको छ । विगत दस बर्षमा यो सडकखण्डको जम्मा पाँच किलेमिटर मात्र पिच भएको छ ।
कुल एक सय ९६.२ किलोमिटर लम्बाइ रहेको यो सडकको हालसम्म दस किमी बाटो पिच छ । रुपन्देही–सालझन्डी सडकको पाँच किमी पहिले नै पिच थियो भने सन्धिखर्कको बिहारा बजारमा पाँच किमी सडक पिच भएको छ । यो सडकखण्डले अर्घाखाँचीमा सबैभन्दा धेरै ७० किलोमिटर क्षेत्र ओगटेको छ । त्यस्तै रुपन्देहीमा ५, पाल्पामा २०, गुल्मीमा ४० र बाग्लुङ्गमा ६१.२ किलोमिटर क्षेत्र ओगटेको छ ।
गुल्मीका स्थानीयहरुले तानसेन–सिद्धबाबा ज्यानमारा सडकको विकल्पमा प्रयोग गर्ने तथा अर्घाखाँचीका वासिन्दा सन्धिखर्कबाट २ घण्टामै बुटबल जान सकिने उदेश्य रहेको सडक निर्माणको काम मन्द गतीमा अगाँडी बढेको हो ।
२०६६ सालमा निर्माणकार्य सुरु भएको सडकको (सन्धिखर्कको एक ठाँउ बाहेक) ट्रयाक खोल्ने काम सम्पन्न भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाका लेखा अधिकृत झबिन्द्र खनालले बताए । एक सय ९६.२ किलोमिटर लम्बाई रहेको सडकको अहिले सम्म १० किलो मिटर पीच, ८६ किलोमिटर ग्राभेल रहेको छ भने एक सय किलोमिटर कच्ची रहेको छ । चालु आर्थिक वर्षमा सन्धिखर्कको बलेबाङ्ग देखि फुदबाङ्ग सम्मको १० किलो मिटर सडक पीचको लागि ठेक्का भैसकेको छ ।
सडक निर्माण गर्न भन्दै कार्यलय खुलेको १० बर्षको अवधिमामा एक अर्ब ५० करोड रकम खर्च भैसकेको छ । १ सय ९६.२ किलोमिटर सडकको डिपीआर सम्पन्न भैसकेको छ । कुल ८ अर्बको डिपीआर रहेको योजना प्रमुख मरासिनीको भनाई छ ।
काम नगरे पछी सम्झौता रद्द
रुपन्देहीको सालझण्डीदेखि सन्धिखर्क हुदै बाग्लुङ्गको ढोरपाटन जोड्ने सडकको कामनै नगरेपछि बिटि जयबाबा जेभि स्वयम्भुको ठेक्का सम्झौता रद्द गर्न कार्यालयले प्रकृया अगाडी बढाएको छ ।
२०७१ सालको पौषदेखि सडक निर्माणको काम अलपत्र परेपछि गएको साउनमा सम्झौता रद्द गर्ने प्रकृया अगाडी बढेको हो । २०७४ सालको बैसाखमा काम सक्नु पर्ने अन्तिम सम्झौता रहेपनि पटक पटक आग्रह गर्दा काम नगरेपछि ठेक्का सम्झौता रद्द गर्ने प्रकृया अगाडी बढाइएको सालझण्ढी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए ।
सालझण्डी ढोरपाटन सडकको कञ्चनखोला देखि ढुंग्री खोला सम्मको १८ किलोमिटर सडक ग्राभेल गर्नका लागि भ्याट बाहेक ४ करोड ३७ लाखमा ठेक्का भएको थियो । उनले १८ किलो मिटरमा जम्मा पाँच किलो मिटर मात्र ग्राभेल गरेको र पटक पटक काम गर्न आग्रह गर्दा समेत काम नगरेकाले ठेक्का सम्झौता रद्दको प्रकृया अगाडी बढेको थियो ।
२०७० सालमा ठेक्का सम्झौता गरेको बिटि जयबाबाले छ बर्ष सम्म सडक अलपत्र बनाएपछी गौरवको आयोजनाको रुपमा रहेको सडक ठेक्का रद्दको प्रकृया अगाडी बढाइयो । तर, निर्माण व्यवसायीले सर्वोच्चमा उत्प्रेषण सहित परम आदेस जारी गरी पाउँ भनी रिट दायर गरे । उक्त रिटमा सर्वोच्चले कुनै आदेश जारी गरेको छैन ।
करिब बिस महिना अँघी तत्कालीन प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको कार्यकालमा बिटि जयबाबाले काम नगरेको भन्दै कम्पनिका एक जना प्रतिनिधिलाई २०७५ साल जेठ ५ गते सन्धिखर्कबाट नियन्त्रणमा लिई दुई दिन प्रहरी हिरासतमा समेत राखिएको थियो । काम गर्ने सम्झौतामा उनलाई छोडेपनी काम अँघी बढ्न सकको छैन ।
सन्धिखर्कको सडक विवाद यथावत
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने विषयमा सन्धिखर्कमा रहेको विवाद विगत ६ बर्षदेखी यथावत छ ।
लामो समयसम्म विवाद सुल्झाउन सम्बन्धित निकाय नै उदासिन भएपछी सडकको ट्रयाक खोल्ने विषयमा अन्यौलता छाएको छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले विरोध जनाएपछी सन्धिखर्कमा ट्रयाक खोल्ने विषयमा झण्डै ६ बर्षदेखि विवाद हुँदै आएको हो ।
बाग्लुङ्गको ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिएपनी सन्धिखर्कमा विवाद रहँदा यो सडकले अझै पूर्णता पाउन सकेको छैन । २०६६ सालमा निर्माणकार्य सुरु भएको सडकको सन्धिखर्क बाहेकका स्थानमा ट्रयाक खोल्ने काम सम्पन्न भएपनी सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहँदा ट्रयाक खोल्न नसकिएको हो ।
सन्धिखर्क चुत्राबेसीको मोटरेवल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद छ । पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्राबेसी बजार गरि दुई वटा विकल्प अँघि सारेपनि दुबै ठाउँका स्थानीयले ट्रयाक खोल्न नदिने अडान राख्दै आएका छन ।
रुपन्देहीको सालझण्डी, अर्घाखाँचीको मैदान, पाली, वाङ्गला, सन्धिखर्क, अर्घा, बाँगी, हंसपुर, प्युठानको सौतामारे, गुल्मीको पुर्कोट–दह, सिर्सेनी, मदानेको लेख, बाग्लुङ्गको बुर्तिबांग, बोबांग हँुदै ढोरपाटन पुग्ने सडकको ट्रयाक खुलको छ तर सन्धिखर्कमा पाँचसय मिटर सडकमा विवाद कायमै छ ।
अर्घाखाँचीको विकासमा कोषेढुङ्गा सडक
यो सडकले अर्घाखाँचीको पर्यटन प्रवद्र्धनमा पनि निकै महत्व राख्ने देखिन्छ । ढोरपाटन जाने पर्यटक अर्घाखाँची हुँदै बाग्लुङ्ग पुग्नेछन् । सडकले जिल्लाका ओझेलमा परेका धार्मिक तथा पर्यटकिय स्थललाई उजागर गर्ने प्रदेश सांसद रामजी प्रसाद घिमिरेले बताए । सडकलाई छिटो भन्दा छिटो सम्पन्न गराउन आफुहरु लागी परेको उनको भनाई छ ।
यता चुनावी घोषणापत्रमा समेत यो सडकको विवाद मेटाउने प्रतिबद्धता गरेका सन्धिखर्कका मेयर कमल प्रसाद भुसालले आफुले सडक विवाद मेटाउन प्रयास गरिरहे पनी समाधान निस्कन नसकेको बताए । ‘विवाद समाधान गर्न लागि परेका छौं, सहमति हुन सकेको छैन, उनले भने,‘ विकल्प खोजीरहेका छौं, छिटै निकास निकाल्छौं ।’ सडक सम्पन्न भएपछी बजारको चहलपहल, धार्मिक तथा पर्यटकिय स्थलको महत्व बढ्नुका साथै बसाई सराई कम भई जिल्लामा सडकसंगै समृद्धी भित्रने मेयर भुसालको भनाई छ ।
यो सडकले पुर्णता पाएपछी तराईबाट छोटो दुरीमा बाग्लुङ्गको ढोरपाटन पुग्न सकिने छ । मुलुकको एकमात्र हिमाली शिकार आरक्ष ढोरपाटनसम्म सालझण्डी–ढोरपाटन सडक पुगेपछि गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरु प्राकृतिक सौन्दर्य चुम्दै अर्घाखाँचीका विभिन्न क्षेत्र हुँदै बाग्लुङ्ग पुग्न सक्नेछन ।

अन्य समाचारहरु