अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण कार्य व्यवस्थापन गर्न अनलाइन व्यक्तिगत घटना दर्ता प्रणालीको सुरूवात गरेको छ ।
फागुन १२ गते देखि वार्ड नं. ५ को कार्यालय, मैदानबाट अनलाइन घटना दर्ताको सुरूवात गरी सोही कार्यको निरन्तरता स्वरूप वार्ड नं. ४ को कार्यालय, पटौटीमा आज बुधबार देखि अनलाइन घटना दर्ताको सुरूवात गरेको हो ।
पाणिनी गाउँपालिकाले २०७६ साल भित्र गाउँपालिकाका सबै वडा कार्यालयहरुमा अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गर्न सकिने गरी प्रक्रिया अगाडि बढाएको हो । नेपाल सरकारको निर्णय अनुसार सामाजिक सुरक्षा कार्यक्रमलाई अनलाईन प्रणालीमार्फत सञ्चालन गर्दै आएको गाउँपालिकाले व्यक्तिगत घटना दर्ता प्रक्रिया समेत अनलाईन प्रणालीमा लैजान सुरुवात गर्न लागेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी गराउनु भयो ।
‘हामीले चरणवद्ध रूपमा गाउँपालिकाका सबै गतिविधिहरूलार्इ प्रविधि मैत्री र व्यवस्थित तुल्याउन लागेका छौ, सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताको काम अनलाईन प्रणालीबाट सञ्चालन गर्दा छिटोछरितो र दोहोरिने वा दर्ता गरेका कागजपत्र हराउने जस्ता समस्याको समाधान हुने गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले जानकारी गराउनु भयो ।
पहिलो चरणमा गाउँपालिकाका ८ मध्ये ५ वडाका स्थानीय पञ्जिकाधिकारीहरूलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनलाईन घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी VERSP-MIS तालिम दिएको र थप प्राबिधिक ज्ञान दिएर काम अगाडि बढाउन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधृकृष्ण पौड्यालले जानकारी गराउनु भयो । गाउँपालिकाले ५ वटा वडाका वडा सचिव तथा सम्बन्धित शाखाका कर्मचारीलाई अनलाईन दर्ता प्रक्रिया सम्बन्धी तालिम दिईसकेको छ । सामाजिक सुरक्षा भत्ता पाउनेहरुको नाम यसअघिनै अनलाईन प्रणालीमा दर्ता भैसकेको र भत्ता वितरण कार्यलार्इ बैकिङ्ग प्रणाली मार्फत भुक्तानी हुनेगरी कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृतको भनाइ थियो ।
जन्म मृत्यु, बसाईसराई, बिबाह दर्ता जस्ता घटनाहरु अनलाईनमार्फत दर्ता हुँदा सोही आधारमा राष्ट्रिय परिचय पत्र बन्ने र एकपटक दर्ता भएपछि प्राप्त भएको परिचय पत्र नम्बरको आधारमा अन्य घटनाहरु थप गर्न सकिने सामाजिक विकास शाखाका अधिकृत कमल कान्त खनालको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री अच्युत गौतम उपाध्यक्ष श्री लक्ष्मी गौतम, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, सामाजिक विकास शाखा प्रमुख कमलकान्त खनाल, वडा नं. ४ का वडा सचिव रविन्द्र न्यौपाने, MIS अपरेटर माधव प्रसाद घिमिरे लगायत सेवाग्राहीहरूको उपस्थिति रहेको थियो ।