अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ को कार्यालय पालीले अनलाइन व्यक्तिगत घटना दर्ता प्रणालीको सुरूवात गरेको छ । फागुन १५ गते वडा अध्यक्ष मिनराज आत्रेय र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले वडा कार्यालयमा आयोजित एक कार्यक्रममा संयुक्त रूपमा अर्सिया परियारलार्इ जन्मदर्ताको प्रमाणपत्र प्रदान गरी अनलाइन घटना दर्ता प्रणालीको सुरूवात गर्नुभयो ।
पाणिनी गाउँपालिकाले सबै ८ वटै वडा कार्यालयहरूबाट अनलाइन घटना दर्ता प्रणाली सञ्चालन हुने गरी कार्य अगाडी बढाएको छ । यस अघि वडा नं. ४ पटौटी र वडा नं. ५ मैदानमा अनलाइन प्रणाली सुरूवात गरिसकिएको छ भने अन्य वडाहरूमा इन्टरनेट र विजुली नियमित हुने व्यवस्था मिलाइ क्रमशः विस्तार गर्दै लगिने प्रमुख प्रशासकीय अधिकृतले जानकारी गराउनु भयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालार्इ व्यवस्थित बनाउन अनलाइनमा आधारित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली VERSP-MIS को माध्यमबाट व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रविधिमा आधारित बनाउन स्थानीय तहहरू संग समन्वय गरी कार्यक्रम अगाडी बढाएको र सोही बमोजिम नै पाणिनी गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता प्रणाली र बैकिंङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुने कार्यका लागि आवश्यक व्यवस्था मिलाएको हो।
उक्त कार्यक्रममा वडा नं. ८ का अध्यक्ष मिनराज आत्रेय, वडा सदस्य कौशर अलि, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, सामाजिक विकास शाखाका अधिकृत कमल कान्त खनाल, वडा सचिव कमल प्रसाद न्यौपाने र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।