अर्घाखाँचीमा कोरोना भाइरसको त्रासबीच फागु पूर्णिमा होली (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको त्रासबीच प्रशासनको आग्रहअनुसार यसपालिको होली शान्त रुपमा मनाइँदै छ । पहिले पहिले जबरजस्ती र पानीका लोला हान्ने गरिए पनि यस पटक निकै सौहार्दपूर्ण रुपमा नजिकका चिनेका मान्छेबीच मात्रै सामान्य रङ दलेर होली पर्व मनाइँदैछ ।
स्थानीय सर्वसाधारण पनि ‘ह्याप्पी होली’ भन्दै एक अर्कालाई रङ लगाइदिएर शुभकामना आदानप्रदान गरिरहेका छन् । यस्तै सन्धिखर्क लगायत जिल्लाभर घर – घरमा परिवार जम्मा भएर होली मनाएका छन् ।  
उता वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रंग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिबिधि नगर्न अनुरोध गरेको छ ।
डाक्टरहरुले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् । भिडभाडमा जाँदा र पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन उनीहरुको आग्रह छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ । तराईमा भने मङ्गलबार होली मनाइँदै छ ।