सरोज थापा (अर्घाखाँचीडट्कम संवाददाता)
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वडा नं. ५ वाङलामा बाँसको डस्टविन निर्माण र प्रयोगले नमुना बन्दै गएको छ ।
अष्ट्रेलियन रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रममार्फत् तालिम लिई बाँसको डस्टविन घर घरले बनाउने र प्रयोग गर्ने गरेकाले वाङ्ला नमुना गाउँ बनेको हो । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वडा नं. ५ वाङलामा २०१७ को जुलाईदेखि २०२० जुनसम्म अष्ट्रेलियन रेडक्रसको आर्थिक सहयोगमा सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा सरसफाइ, प्राथमिक उपचार तालिम, लैङ्गिक संरक्षण, आयआर्जन लगायतका विषयमा तालिमहरू सञ्चालन भएका छन् । कार्यक्रमले स्थानीय स्रोत र साधनको प्रयोग गरी फोहोर व्यवस्थापनमा समुदायलाई अग्रसर बनाएको छ । जसअन्तर्गत स्थानीय स्तरमा पाइने बाँसबाट डस्टविन बनाउने सीप सिकाइएको छ । वडा नं. ५ का झण्डै पाँच सय घरधुरीमा तालिम दिएको छ । ती घरधुरीलाई दुई वटा समूहमा विभाजन गरी समूहगत आम्दानीको लागि कार्यक्रमले समुदायलाई अग्रसर गराएको छ ।

जसले गर्दा वडा नं. ५, सन्धिखर्क नगरपालिका, अर्घाखाँची जिल्ला मात्रै नभएर छिमेकी जिल्लाहरूसम्म पनि फोहोर व्यवस्थापनको लागि बाँसको डस्टविन सहयोगी बन्दै गएको छ । तालिम प्राप्त स्थानीयहरूले बाँसबाट डस्टविन निर्माण गरी चार सय रूपैयासम्ममा बेचिरहनु भएको छ । सन्धिखर्क नगरपालिकाले स्थानीय उत्पादन देखेर नगरपालिकाको बुद्धपार्कमा डस्टविन प्रयोग गरी सफा बनाउने अभियानका लागि दुई वटै समूहलाई बीस हजार रूपैयाका दरले सहयोग गर्नु भएको छ भने आगामी वर्षदेखि आवश्यक बजेट विनियोजन गर्ने नगरप्रमुख कमल भुषालले बताउनु भएको छ । वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र भुषालले रेडक्रसको कामको प्रशंसा गर्नु भएको छ । स्थानीयहरूको प्राथमिक उपचार, स्वास्थ्य तथा सरसफाइ र आयआर्जन क्षमतामा सहयोग गरेकोमा अहिले बाँसको डस्टविन निर्माण गर्ने नमुना वडा बनेकोले वडा अध्यक्ष रेडक्रसलाई धन्यवाद भन्नुहुन्छ ।

कार्यक्रमको सुरूवातमा स्थानीय विवेक पोखरेललाई तालिम दिएको र उहाँमार्फत् स्थानीय सबैलाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक सरोज थापा बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले यो नमुना गाउँ बनेको छ । विभिन्न जिल्लाहरूबाट बाँसको डस्टविन निर्माणको सीपका बारेमा जानकारी लिन आउने र किन्न आउनेको संख्या बढेको छ ।” जसले समुदायको आर्थिक क्षमता पनि बढाएको कार्यक्रम संयोजक थापाको भनाई छ ।
प्लाष्टिकको डस्टविनले प्रदुषण बढाउने भएकोले स्थानीय बाँसको डस्टविन वातावरणीय हिसाबले ज्यादै उपयोगी भएको कार्यक्रम संयोजक थापा बताउनु हुन्छ । लागत र आयुका हिसाबले उस्तै भएको हुनाले प्लाष्टिकका सामग्री भन्दा बाँसको सामग्री उपयोगी भएकोले पनि स्थानीयको मन जितेको उहाँको भनाई छ । अहिले वडा कार्यालय, नगरपालिका, प्रहरी कार्यालय र पार्कहरूमा समेत बाँसको डस्टविनको प्रयोग गरिएको छ ।