अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लासँग जोडीएका चातैतिरका नाकाहरुमा कडाई गर्न र ‘हेल्थ डेस्क’ सञ्चालन गर्न अर्घाखाँचीबासीले माग गरेका छन् ।
कोरोनाभाइरसको संक्रमण अर्घाखाँचीमा प्रवेश गर्न नदिन गुल्मी, पाल्पा, प्युठान, कपिलवस्तु ( गोरेसिङे – सन्धिखर्क सडक), दाङ लगायतबाट आउँने सबैलाई ‘हेल्थ डेस्क’ सञ्चालन गरी स्वास्थ्य जाँच गर्न जिल्लाबासीले अनुरोध गरेका हुन् ।
शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडाका स्थानियबासीले गोरेसिङे – सन्धिखर्क सडकबाट आउनेलाई गोरेसिङे वा पत्थर्कोटमा चेक जाँच गर्न अनुरोध गरे । गाडीबाट आउने सबैलाई एक एक गरेर जाँच गर्नुपर्छ । अर्घाखाँचीमा भारतबाट सिधा आउने गाडीलाई रोक लगाउनु पर्छ, उनिहरुले भने ।
यस्तै प्युठान सिमाना जोडीएको छापेखोलामा नजिकका बसिन्दाले पनि हेल्थ डेस्क’ सञ्चालन गर्न माग गरे । प्युठानमा कोरोनाभाइरससँग मिल्दोजुल्दो विरामी फेला परिरहेको भन्दै तुरुन्त चेक जाँच गर्नुपर्छ, उनिहरुले भने ।
यस्तै गुल्मी, पाल्पाबाट आउनेलाई पनि हेल्थ डेस्क’ सञ्चालन गरी कडाई गर्न छत्रदेव गाउँपालिकाका स्थानियबासीले माग गरेका छन् । छत्रगञ्जका बिष्णु अधिकारीले कोरोनाभाइरसको संक्रमण हुन नदिन अरु जिल्लाले हेल्थ डेस्क’ सञ्चालन गरेपनि अर्घाखाँचीमा सम्बन्धित निकायको ध्यान नगएको भन्दै तुरुन्त जिल्लाभरका सिमानामा कडाई गर्नुपर्छ उनले भने । साथै पाल्पा र अर्घाखाँचीको सिमाना जोरपोखरीका स्थानियबासीले पनि डर त्रासमा छौ भने ।
उता अर्घाखाँची अस्पतालले कोरोना भाइरसको शंकास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्षको स्थापना गर्ने बताए छ ।