अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्कम, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेका सबै सरकारी कार्यालयले हात धोएर मात्रै कार्यालय प्रवेश गर्न शुरु गरेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सबै सरकारी कार्यालयले हात धोएर मात्रै कार्यालय प्रवेश गर्न शुरु गरेका हुन् ।
कार्यालयमा आउने सेवाग्राहीलाई अनिवार्य साबुनपानीले हात धोएरमात्रै भित्र आउन अनुरोध गरिएको छ । हात धुन सेवाग्राहीका लागि कार्यालय हातामा एउटा धारा निर्माण गरिएको छ । धारामा साबुन पानीको व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सन्धिखर्क नगरपालिका लगायत सबै कार्यालयमा साबुनपानीले मिचिमिची हात धोएर मात्रै सेवाबारे कार्यालय प्रवेश गर्न आग्रह गरिएको छ ।
कार्यालयहरुले कार्यालय हाताभित्रै सचेतनामूलक होडिङ बोर्ड समेत टाँसेको छन् । हातबाट फैलने कुनैपनि किसिमको महामारीबाट आफु पनि बचौं, अरुलाई बचाऔं भनिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रवेशद्धार नजिक कार्यालयमा प्रवेश गर्ने सबै व्यक्तिहरुलाई साबुन पानीले हात धुने व्यवस्था मिलाईएको बताएको छ ।
उता हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( COVID-19) सङक्रमणबाट जोगीने उपाय स्वरुप जिल्ला प्रहरी कार्यालय अर्घाखाँची परिसर भित्र पूर्व सावधानी सहायता कक्ष ( Help Desk) को स्थापना गरी प्रहरी अधिकृत द्धारा सेवाग्राहीहरुलाई कोरोना भाईरस संक्रमण सम्बन्धी जानकारी दिने, सङक्रित भएको शंका लागेका व्यक्तिहरुलाई परिक्षणका निम्ती अस्पताल पठाउने तथा अभिलेख राख्ने कार्यको शुरुवात गरिएको छ ।