अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाए अनुसार अर्घाखाँची जिल्लामा भित्रिने यातायातमा रोक लगाइएको छ ।
यातायात व्यवस्था विभागका अनुसार भोली सोमबारदेखि जिल्लाभरि सार्वजनिक यातायात चले पनि अर्घाखाँची जिल्ला बाहिर भने चल्न पाउने छैनन् । यो सँगै अब देखि बुटवल, कृष्ण नगर, गोरसिङे, प्युठान, पाल्पा, गुल्मीबाट अर्घाखाँचीमा कुनै सवारी साधन आवतजावत गर्न पाउने छैनन् । तर जिल्ला प्रशासन अर्घाखाँचीले भने अहिलेसम्म कुनै प्रतिबन्ध लगाएको छैन् । यस्तै भोली सोमबारदेखि सिमावर्ती कपिलवस्तुको पथ्थरकोटमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँच गरिने तयारी गरिएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले कानुनतमा २ सय ५० किलोमिटरभन्दा धेरैलाई लामो दूरी भनिने भए पनि हालको परिस्थतिमा त्यसलाई आधार मान्न नमिल्ने बताउनु भयो । ‘रोगको संक्रमण नफैलियोस् भनेर लामो दूरीको सञ्चालनमा रोक लगाइएको हो। एउटै गाडीमा धेरै जना लामो समय यात्रा गर्दा पनि संक्रमण एउटा व्यक्तिबाट अर्कोमा सर्न सक्छ,’ हमालले बताउनु भयो ।
‘त्यस्तै जिल्लाभरि सार्वजनिक यातायात चल्न पायो तर जिल्लाको नाका कटेर जान पाउँदैन,’ हमालले भन्नु भयो ।
निजी सवारी साधन वा मोटरसाइकल/स्कुटरको हकमा भने हालसम्म कुनै निणर्य नभएको उहाले जानकारी दिनुभयो ।
उता दसैँतिहारका बेला आफ्नो गाउँघर फर्किएजस्तै अहिले फेरि विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट सुरक्षित रहन गाउँघर फर्किनेको भीड देखिने गरेको छ।
विभिन्न पेशा व्यवसाय तथा अध्ययन र जागिरको कारण सहरमा बस्नेहरू यतिबेला घर फर्किन थालेका छन्। अर्घाखाँची लगायत गुल्मी, पाल्पा, प्यूठान, बाग्लुङ लगायतका जिल्लाबाट बुटवल, भैरहवामा बसोबास गरेकाहरू केही दिनका लागि भन्दै गाउँ फर्किन थालेका छन्।
जसले गर्दा बुटवल बसपार्कमा यात्रुको भीड देखिएको छ। बुटवल बसपार्कबाट यसक्षेत्रका पहाडी जिल्लाहरुमा नियमित रुपमा छुट्ने भन्दा धेरै संख्यामा बस छुट्ने गरेका छन्।
यात्रुहरुको संख्या बढेपछि यातायात व्यवसायीले पहाडी जिल्लामा जाने बसको संख्या थप गरेका छन्।