अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सरकारले कोरोना भाइरस संक्रमण भइहाले उपचारको पूर्व तयारी गरिरहँदा अर्घाखाँचीमा भने स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षाका सामग्रीहरुको अभाव रहेको छ ।
अर्घाखाँचीमा कोरोना भाइरस चेकजाँच गर्न परिचालित स्वास्थ्यकर्मी आफैं असुुरक्षित भएको गुुनासो गरेका छन् ।
जिल्ला अस्पताल अर्घाखाँची लगायत सन्धिखर्कको हटारीको श्री युबाबर्ष रविचित्र जनता माध्यमिक विद्यालयमा कोरोना भाईरसका शंकास्पद व्यक्ति उपचारका लागि आवश्यक आइसोलेसन बेड तयार गरिसकेको छ ।
तर स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री व्यवस्थापनमा सरकार उदासिन भएको जिल्ला अस्पताल अर्घाखाँचीका चिकित्सकहरुको भनाइ छ ।
अस्पतालमा आउने दैनिक बिरामी चेकजाँचमा जतिबेला पनि मास्कको आवश्यकता पर्ने भएपनि अस्पताल प्रशासनले व्यवस्थापन गर्न सकेको छैन ।
संक्रमितको उपचारमा संलग्न हुँदा लगाउनु पर्ने कपडा र अन्य सामाग्री प्रयाप्त नभएकाले रोग सर्न सक्ने कारणले चिकित्सक चिन्तित छन् । उता औषधी व्यावसायी संघ अर्घाखाँचीले अर्घाखाँचीमा ६ महिनासम्म पुग्ने डेढ करोडको औषधि स्टक रहेको दावी गरेको छ ।