अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले घोषणा गरेको एक साता लामो लक डाउनलाई अवज्ञा गर्नेमा युवायुवतीको संख्या बढी देखिएको छ ।
जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत गाउँ – गाउँमा लक डाउनलाई अवज्ञा गर्नेमा युवायुवती बढी देखिएका छन् ।
यस्तै जिल्लाका विभिन्न ठाउँमा लकडाउनको अवज्ञा गरेर घुमफिर तथा मोटरसाइकल चलाएर हिड्ने झण्डै २० कारवाहीमा परेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेको नेतृत्वमा अनुगमनमा खटिएको टोलीले बिहीबार लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गरेको हो।
उनीहरुलाई मुर्गा बनाउने, कान छोपेर अब गल्ती नगर्ने तथा अब यसरी बाहिर नहिड्ने सर्तमा छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए। सन्धिखर्क २ र १० मा अनुगमन गर्दा उनीहरु कारवाहीमा परेका हुन्।
यस्तै लक डाउनको उल्लंघन गर्नेलाई अर्घाखाँची प्रहरीले भने सडकमै कारबाही गर्ने र फेरि निस्किए थप कारबाही गर्ने चेतावनी दिएको छ । तर सर्वसाधारण भने सडकमा निस्कन छाडेका छैनन् ।
लकडाउनको मौका छोपेर लुकी छिपी जुवा तास
यस्तै सन्धिखर्क बजारका व्यापारी लगायत गाउँ – गाउँमा लक डाउनको मौका छोपेर लुकी छिपी मदिरा पिउने देखि जुवा तास खेलेको पाइएको छ ।
लक डाउनको बेला घरमा बस्नु पर्नेमा उनिहरु घर – घरमा जम्मा भएर लुकेर तास खेल्ने गरेको पाइएको हो । उनिहरुले भन्छन्; कती घरमा बस्ने टाइम पास गर्नै पर्यो ।
यस्तै पाटी पौवामा समुहमा बसेर गफ गरिरहेका देखिन्छन् । उनिहरु कोरोना भाइरस, लकडाउन लगायतका गफ गर्दै बसेका देखिन्छन् ।
उता प्रहरी प्रशासनले “लकडाउन”मा सवारी चलाएर मात्र होइन, गाउँमा तास खेल्ने र पाटी पौवामा समुहमा बसेर गफ गर्नेहरु पनि सजायको भागिदार हुने बताएको छ ।