अति बिपन्न जनताको खाद्यान्न जोहो गर्दै सन्धिखर्क -२ का जनप्रतिनिधि

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची / चैत १६ ।  सन्धिखर्क नगरपालिका वडा नं. २ ले दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई आबस्यकता अनुसार खाद्य सामग्री उपलव्ध गराउने भएको छ । 
लकडाउनको समय लम्बिन सक्ने र लकडाउन लम्बिए सँगै दैनिक ज्याला मजदुरी गरि जिबिको पार्जन गर्ने परिवारमा भोकमरीको अबस्था सिर्जना हुने भन्दै वडा समितिले आफ्नो वडाका नागरिक लाई भोकभोकै बस्ने स्थितिको सिर्जना हुन नदिने जनाएको छ ।
 वडाले आफ्नो वडाका अति गरिब तथा बिपन्न जनताको तथ्यांक तयार पारेको र जनताको मागअनुसार  राहतको निम्ति चामल ,दाल,नुन,तेल लगायतका सामग्री उपलव्ध गराउने तयारी गरेको वडाअध्यक्ष मोतिजङ्ग रायमाझीले बताउनुभयो । उहाँले दुख:को समयमा वडाका जनताको सुरक्षा गर्नु आफुहरुको दायित्व भएको  बताउँदै खानपिन लगायत कुनै पनि कुरामा दु:ख परेमा तत्कालै   आफुहरु लाई जानकारी दिन आग्रह गर्नुभयो । 
वडा सदस्य शुष्मा श्रेष्ठले  कोरोना भाईरसका कारण विश्व नै आक्रान्त भएको अबस्थामा त्यसबाट बच्नको निम्ति सरकारले गरेको लकडाउनको निर्णय अनुसार घरभित्रै बसेर सहयोग पुर्याउने गरिब तथा बिपन्न परिवारका मजदुरहरु लाई खाद्य सामग्रीको चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले जनताको स्वास्थ्य र गासबास भन्दा ठुलो कुरा अरु केही नहुने भन्दै आफुहरु सहयोगको निम्ति तयारी अबस्थामा रहेको बताउनुभयो । करीब ६ हजार जनसंख्या रहेको सन्धिखर्क वडा नं.२ मा जिल्लाका ६१ वडा मध्ये सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गरेर जिबिको पार्जन गर्ने मान्छेहरु छन् । 
यहाँ अर्घाखाँचीको ग्रामीण क्षेत्र तथा प्युठान ,रोल्पा र गुल्मी बाट समेत ज्याला मजदुरीको निम्ति  आएका मजदुर र तिनका परिवार समेत अस्थायी रुपमा बसोबास गर्ने गर्छन् । यसैबीच सन्धिखर्क वडा नं.२ को अर्घाखाँची आबासिय माध्यमिक बिद्यालयमा कोरोना उच्च जोखिममा रहेकाहरुको निम्ति क्वारेन्टाइन निर्माण गरिएको छ । सन्धिखर्क नगरपालिका , २ नं. वडा समिति र निजि बिद्यालयहरुको छाता संगठन प्याव्सनको विशेष सक्रियतामा संचालित क्वारेन्टाइनमा वडाका प्रतिनिधिहरुले सहयोग गर्ने गरेका छन् ।
 क्वारेन्टाइनमा रहनेहरुको खानपिन ,स्वास्थ्य अबस्था ,सरसफाइ र उच्च मनोबल बढाउने कुरामा सहयोग पुर्याउँदै आएको वडा सदस्य शुष्मा श्रेष्ठले बताउनुभयो । उहाँले अर्घाखाँची आबासिय मा.बि.प्रिन्सिपल श्रीकृष्ण भुसाल , बिद्यालयका कर्मचारी ,नगरपालिकाका कर्मचारी र आफुहरु समेत काममा खटिएको बताउनुभयो ।

अन्य समाचारहरु