अर्घाखाँचीका २ जनाको रिपोर्ट नेगेटिभ आयो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस संक्रमणको आशंकामा सन्धिखर्कबाट बुटवल पठाइएका २ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 
जिल्ला प्रमुख अधिकारी बिजय राज पौडेलका अनुसार  सन्धिखर्कबाट बुटवल पठाइएका ७ जना बिमारी मध्ये २ जनाको रिपोर्ट रिपोर्ट नेगेटिभ आएको हो । बाँकी ५ जनाको रिपोर्ट आउन केही समय लाग्ने बताएकाे हाे ।  
उता अर्घाखाँचीमा चारजनालाई आइसोलेशन र २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  चैत्र ६ गते युएइबाट शारजहाँ विमानस्थलहुँदै काठमाडौं आएका एकजना कैलालीका यात्रुमा कोरोना भाइरस संक्रमण पाइएको र सो विमानमा यात्रा गरी नेपाल आएका अर्घाखाँचीका चारजनाको जिल्ला प्रशासन कार्यालयले पहिचान गरेको छ ।
 
एउटै विमानमा ३ जना र थप एकजना गरी चारजनालाई सन्धिखर्कको बेलबाटिकामा रहेको आइसोलेसन कक्षमा राखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । युएइबाट आएका एकजना र भारतबाट आएका दुईजना गरी तीनजनाको स्वाबको नमुना संकलन गरी बुटवल प्रादेशिक अस्पताल पठाइएको डाक्टर गौतमले बताए । संक्रमण हुनसक्ने सम्भावना भएकोले उनीहरुमाथि निगरानी र आवश्यक उपचार प्रक्रिया सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिए । 
चार जनामध्ये भुमिकास्थान नगरपालिका-५ असुरकोटका एकजना, भुमिकास्थान नगरपालिका७ नुवाकोटका एक जना, र छत्रदेव गाउँपालिका ६ ठुलापोखराका एकजना र ट्याक्सी ड्राइभर गरी चारजनालाई सन्धिखर्कस्थित बेलबाटिकाको  आइसोलेसनमा राखिएको छ । 
सन्धिखर्क १ हटारीनेटामा १० जना, छत्रदेव २ को बल्कोटमा १० जना र भुमिकास्थान नगरपालिकामा ६ जना गरी २६ जनालाई क्वारेन्टाइनमा छन् ।  कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन गरेपछि अर्घाखाँची सुनसान छ । जताततै कोरोनाको त्रास छ । मानिस घर भित्रै बसेका छन् । 
सदरमुकाम सन्धिखर्क र चुत्राबेसी बजार सुनसान छ । तर गाउँका मानिस पशुको स्याहार तथा खेतीपातीमा लागेका देखिन्छन् । परिवार मात्र भएपनि उनीहरु काममा देखिन्छन् ।  जिल्लाका स्थानीय तहहरु क्वारेन्टाइन निर्माणमा जुटेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सबै स्थानीय तहमा क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय भएपछि स्थानीय सरकार पनि क्वारेन्टाइन कक्ष निर्माणमा जुटेका हुन् । 
अहिलेसम्म जिल्लाका ६ स्थानीय सरकारको पहलमा ३ सय २४ क्वारेन्टाइन कक्ष निर्माण भइसकेका छन् । अरु पनि थप गरिँदै छ । प्रत्येक वडामा पर्ने गरी क्वारेन्टाइन कक्ष निर्माणमा उनीहरु जुटेका हुन् । सन्धिखर्क नगरपालिकामा ३२, भुमिकास्थान नगरपालिकामा एक सय, शितगंगा नगरपालिकामा २५, मालारानी गाउँपालिकामा एक सय, पाणिनि गाउँपालिकमा ३० र छत्रदेव गाउँपालिकामा ३७ क्वारेन्टाइन कक्ष निर्माण गरिएको हो। 

अन्य समाचारहरु