वीरेन्द्र केसी कान्तिपुर
सितापुर, अर्घाखाँची । गाउँ बाहिरबाट मानिसलाई आउन नदिन शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको झिर्राका युवाहरुले रातभर जाग्राम बसेर चौकिदारी गर्न थालेका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्न भन्दै गाउँका २० युवाले पालैपालो ५ दिनदेखि गाउँ भित्रने तीन वटै नाकामा निगरानी गरिरहेका हुन् ।
दुई सय ८० घरधुरी रहेको गाउँमा अरुबेला आवतजावत बाक्लै हुन्थ्यो । विश्वव्यापी रुपमै कोरोना भाइरसको महामारी फैलिएपछि गाउँमा संक्रमण नहोस् भन्न नयाँ मानिस आउजाउमा रोक लगाइएको स्थानीय राजु अधिकारी बताए । ‘कोही नयाँ मानिस आउँछन् कि भनेर चौकीदारी गर्छौं,’ उनले भने ।
उनीहरुले सडकमा रुख ढालेर अवरोध गरेका छन् । ‘अरु गाउँबाट पनि आउजाउ गर्न थाले, लकडाउनको पालना भएन, त्यसैले चौकीदारी बस्नुपरेको हो,’ उनले भने, ‘धेरै मान्छे आए फिर्ता पठाइदिन्छौं । गाउँका पनि कोही बाहिर जान पाउँदैनन् ।’ सडकमा बसेको बेला कोही जंगलबाट छिर्छन् कि भनेर पनि निगरानी गरिरहेको उनले सुनाए ।
सिकिस्त बिरामीबाहेक भेटघाटका लागि सबैलाई गाउँ बाहिर जान प्रतिबन्ध लगाइएको छ । ‘समूह बनाएर बसेका छौं, विदेशबाट फर्किएकालाई सिधै घर जान दिँदैनौं,’ स्थानीय विष्णु क्षत्रीले भने, ‘त्यस्ता व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि बल्ल गाउँमा पस्न दिने गरेका छौं ।’ गाउँमा आउनेलाई कोरोना भाइरसका बारेमा सम्झाएर फिर्ता पठाउने गरिएको छ ।
रातिमा बाटोमा आगो बाल्ने, गीत गाउने, बजाउने गरेर चौकीदारी गरिरहेको उनले बताए । चौकीदारी गर्ने युवा दूरी कायम गरेर बसेका छन् । बाटो छेकेपछि आउजाउ गर्ने कोही नभएको उनले दाबी गरे ।