भूमिकास्थान नगरपालिकामा कपडाका मास्क माथि ठुलो भष्ट्रचार हुने गन्ध, रु. ७ मा पाइनेलाई १७ रुपैयामा खरिद गर्ने योजना

२०७६ चैत्र २०, विहीवारमा प्रकाशित


अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले वितरण गर्न रोक लगाएको कपडाका मास्क खरिद  गर्ने योजना बनाएको छ ।  
भूमिकास्थान नगरपालिकाले जिल्ला प्रशासन कार्यालयले वितरण गर्न रोक लगाएको कपडाका मास्क खरिद  गर्ने योजना बनाएको  हो । नगरपालिकाले नियम विपरित ७ लाख रुपैयाका कपडाका मास्क निर्माण गर्ने तयारी छ ।  कपडाका मास्क त्यो पनि यो माक्स गुणस्तरहिन छन् ।  
उता नगरपालिकाले योजना बनाउनु भन्दा पहिले नै वार्ड नम्बर १ र २ ले कपडाका मास्क (तस्बिरमा देखिएका) वितरण गरिरहेका थिए । नगरले योजना बनाएको भएपनि वार्ड नम्बर १ र २ मा गुणस्तरहिन कपडाका मास्क बाडेको र ८ हजारलाई ३ लाख भन्दा बढी खर्च भएको भन्ने समाचार आइरहेका छन् ।
यस्तै नगर प्रमुख उपप्रमुखले  प्रशासनले कमसल खालको मास्क बितरणमा रोक लगाइ सकेकाले हामीले यस्तो मास्क बितरण गर्नु हुदैन भन्दापनी कपडाको गुणस्तरहिन मास्क बितरण गरेका वडाअध्यक्षहरुले जस्तो भएपनि मास्क बितरण  जबर्जस्त दबाब दिएको कारण नगरले  ४० हजार मास्क बितरण गर्ने निर्णय बध्य भएको बुझिएको छ ।  
अचम्मको कुरा त के भने ७ रुपैयामा बन्ने वा पाइने कपडाको मास्कलाई १७ रुपैयामा तिर्ने खरिद गरी प्रक्रिया शुरु गरेको छ । एक मास्कको १७ रुपैयाको दरले  आउने छ । भूमिकास्थान नगरपालिकाका प्रतिनिधिहरुले नियम विपरित ७ लाख रुपैयामा १७ रुपैयाका दरले ४११७६ प्रति कपडाका मास्क खरिद  गर्ने  प्रक्रिया शुरु गरेका छन् । त्यो पनि ७ रुपैयामा १० हजार मास्क बनाउन सकिने छ ।  नगरपालिकामा ७ लाखका मास्कमा ४१,१७६८ रुपैया कमिशनको खेल भएको देखिन्छ; भूमिकास्थान नगरपालिकाका एक जना वार्ड प्रतिनिधिले नाम नबताउने सर्तमा हिसाब सहित विवरण दिदै अर्घाखाँचीडट्कमसँग भने ।
भूमिकास्थान नगरपालिकामा नियमित व्यापक भष्ट्रचार भएको छ, नगरपालिकामा विभिन्न शिर्षकमा भएका बिकासका काममा ५० % बढी भष्ट्रचार भएको छ; नुवाकोटका राम बहादुर मगरले भने । भूमिकास्थान नगरपालिकामा प्रयोग गर्ने गाडीको डिजल प्रेट्रोल देखि सबै क्षेत्रमा ठुलो भष्ट्रचार भएको छ, उनले भने ।  
जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले घोषणा गरेको एक साता लामो लकडाउनको केही जनप्रतिनिधीले अवज्ञा गरेका छन् भनेर अर्घाखाँचीडट्कममा समाचार आएपछि जिल्ला प्रशासनले रोक लगाइएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का नारायण खड्का र  वार्ड नम्बर ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको लक डाउनको अवज्ञा गरेका भनी समाचार प्रकासित भएको थियो ।
अर्घाखाँचीमा सामान्यतया गाउँ घरमा माक्स लगाउन पर्ने देखिदैन, अर्को तर्फ कपडाका माक्सले झन जीवाणु मुखमा जाने र संक्रमणको उच्च जोखिम हुने हुन्छ । सर्जिकल मास्कले वायुमा रहेका भाइरस ब्याक्टेरिया फ्लू वा रुघाखोकी लागेका मानिसले हाच्छिँउ गर्दा वा खोक्दा निस्कने जीवाणु मुखभित्र जानबाट बचाँउछ। तर कपडाको मास्कले कुनै पनि संक्रमणबाट नबचाउने टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अर्घाखाँचीडट्कमलाई बताएका छन् । ‘कपडामा बसेका जीवाणु सजिलै हातको माध्यमबाट मुखमा जाने र संक्रमण हुने उच्च जोखिम हुन्छ,’ उनले भने।
छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले सस्तो लोकप्रियताको लागि राज्यकोषको ठुलो रकम रकम खर्चेर मापदण्ड विपरित ३० हजार कपडाका मास्क उत्पादन गरी वितरण गरेका छन् ।    
भूमिकास्थान नगरपालिका यस्तो पालिका हो जहाँ अहिलेसम्म कोरोना भाईरस रोकथाम विरुद्द अहिलेसम्म केही कदम चालेको छैन् । हिजो मात्र नगरपालिकाले कोरोना भाईरस संक्रमण रोकथामका लागि राहत कोष निर्माण गरेको छ । आर्थिक कोषमा नगर प्रमुख रेशम थापाबाट रु १७५००, नगर उपप्रमुख खड़ानन्द बेल्बासेबाट रु १५०००, सबै वार्ड अध्यक्षहरुबाट प्रति व्यक्ति रु १२५००, कार्यपालिका सदस्यहरुबाट प्रति व्यक्ति रु ६५००, सबै वार्ड सदस्यहरुबाट प्रति व्यक्ति रु ४००० गर्नेछन् । यस्तै राष्ट्रसेवक कर्मचारीहरुबाट प्रमुख प्रशासकीय अधिकृत ५ दिन बराबरको पारिश्रमिक अधिकृतस्तरका कर्मचारी सबै प्रति व्यक्ति ३ दिन बराबरको पारिश्रमिक सहायकस्तरका कर्मचारी सबै प्रति व्यक्ति २ दिन बराबरको पारिश्रमिक र सवारी चालक र कार्यालय सहयोगी कर्मचारी सबै प्रति व्यक्ति १ दिन बराबरको पारिश्रमिक रक़म तत्काल जम्मा गर्ने निर्णय गरेको छ ।  

अन्य समाचारहरु