किमडाँडामा सन्धिखर्क-८ द्वारा अति विपन्न परिवारलाई राहत वितरण (तस्बिर सहित)


गोपाल प्रसाद भट्टराई
किमडाँडा, अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्क–८ किमडाँडाको वार्ड कार्यालयले वडाभित्रका अति विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ । 
वार्ड नं. ८ का १ सय १५ जना अति विपन्न घर परिवारका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री बितरण गरिएको वडा अध्यक्ष इश्वरी प्रसाद भुसालले जानकारी दिनुभएको छ । सन्धिखर्क–८ का जनता कृष्ण मा.वि.,जनता आधारभुत विद्यालय,किलारा आधारभुत विद्यालय,नवज्याति आधारभुत विद्यालय र गौतम आधारभुत विद्यालयमा केन्द्र खडा गरि १ सय १५ जनालाई २ हजार ४ सय ७० किलो चामल, १ सय ८१ किलो दाल, १ सय ८१ लिटर तेल,१ सय १५ किलो नुन लगायतका खाद्यान्न वितरण गरिएको वडा सदस्य देवी थापा भुसालले बताउनुभएको छ ।
 राहत सामाग्री वितरण गर्दै वडा अध्यक्ष इश्वरी प्रसाद भुसालले कोरोना भाइरस अर्थात कोभिड(१९ को प्रभावले आफ्नो परिबामा दैनिकी सञ्चालनमा कठिन परेका अपाङ्ग,एकल महिला तथा आयस्रोत केही नभएका ब्यक्ति तथा अति विपन्न परिवारहरूलाई राहत वितरण गरिएको स्पष्ट पार्नुभएको छ । रोजगारीको शिलशिलामा भारत तथा विदेश गएका थुप्रै नेपालीहरु विश्वभर फैलिरहेको भाइरस संक्रमणको जोखिम मोलेरै भएपनि घर फर्किएको हुनाले अनिवार्य होम क्वारेन्टाइनमा बस्नपनि अध्यक्ष भुसालले वडाबासीलाई अपिल गर्नुभएको छ । लक डाउनको कारण कोही पनि भोकै हुन नपरोस् भन्ने उद्धेश्यले नगरपालिकाकै निर्णय अनुसार गरिब तथा विपन्न परिबार र मजदुरहरुको लगत संकलन गरि दैनिक उपभोग्य सामग्री राहत स्वरुप वितरण गरिएको अर्का वडा सदस्य नारायण अर्यालले बताउनुभयो । 
दैनिकी छाक टार्न पनि कठिन परिरहेका बेला स्थानीय सरकारको यो राहतबाट अति विपन्न परिवारका नागरिकहरू खुसी भएको वडा सदस्य कमला सुनारको भनाई छ । हिजो दिनभर वडा अध्यक्ष,सदस्य सहित स्थानिय सरोकारवालाहरु खटेर राहत बितरण सम्पन्न गरिएको वडा सदस्य कमल पराजुलीले जानकारी दिनुभयो । 
अहिले कोरोना भाइरसको संक्रमणका कारण विश्व नै आक्रान्त भइरहेको छ । जसबाट नेपाल पनि बँच्न सकेको छैन,दिन–प्रतिदिन यसको प्रभाव बढ्दै जाँदा मुलुकभरका जनतामा सन्त्रास छाइरहेको छ । 
विकसित मुलुकहरुले समेत यस भाइरसको सक्रमणबाट जित्न नसकी हजारौं मानिसले ज्यान गुमाउनुपरेको अवस्थामा नेपालमा संक्रमण बढ्दै गएमा स्थिति भयावह हुने आंकलन गरिएको छ । नभन्दै नेपालमा पनि हाल सम्म ६ जनामा सक्रमण पुष्टी भइसकेको छ । 
छिमेकी मुलुक भारतमा झन्डै तिन हजार व्यक्तिमा संक्रमण देखिएसंगै यसलाइ रोक्न नेपाल सरकारले मुलुकलाई लकडाउन गरेको छ । जसका कारण जनजिवन प्रभावित भएको छ भने यसको प्रत्यक्ष मारमा दैनिक ज्याला मजदुरी गरि छाक टार्नेहरु परेका छन् । संकटको यस घडिमा कोहीपनि भोकै हुन नपरोस भनेर अहिले स्थानिय सरकारले राहत बितरण गर्दै आइरहेका छन् ।

अन्य समाचारहरु