अर्घाखाँचीका ६ स्थानीय तहको राहत कोषमा एक करोड ८६ लाख संकलन

प्रेम नारायण आचार्य
सन्धिखर्क,  अर्घाखाँची । अर्घाखाँचीका स्थानीय तह सहयोग संकलनमा जुटेका छन्। जिल्लाका ६ स्थानीय तहको विपद् व्यवस्थापन खातामा बिहीबारसम्म एक करोड ८६ लाख ६५ हजार ६ सय ८५ रुपैयाँ संकलन भएको छ। स्थानीय पालिकाले राखेको विपद् व्यवस्थापन कोष र संघ संस्था, कर्मचारी र जनप्रतिनिधिको सहयोगबाट एक करोड ८६ लाख ६५ हजार ६ सय ८५ रुपैयाँ संकलन भएको हो।
सन्धिखर्क नगरपालिकाको विपद व्यवस्थापन कोषमा ४० लाख २७ हजार १ सय ४७ रुपैयाँ जम्मा भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार विपद् व्यवस्थापन कोषको ३० लाख र कोरोना राहातको लागि प्राप्त सहयोग ५ लाख २७ हजार एक सय ४७ रुपैयाँ जम्मा भएको हो।
शितगंगा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा नगरपालिकाको एकमुष्ठ ८० लाख र विभिन्न संघ संस्थाको सहयोग ३ लाख गरी ८३ लाख जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताउनु भयो । जनप्रतिनिधिको सहयोग रकम तथा संघ संस्थाको सहयोग आउने क्रममा रहेको बताउनु भयो ।
भसमिकास्थान नगरपालिकाको विपद व्यवस्थापन कोषमा नगरपालिकाको २० लाख र विभिन्न क्षेत्रबाट आर्थिक सहयोग तथा कर्मचारी र जनप्रतिनिधिबाट भएको सहयोग गरी २३ लाख चार हजार पाँच सय सकंलन भएको प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीले जानकार दिनु भयो ।
पाणिनि गाउँपालिकाको विपद व्यवस्थापन कोषमा गाउँपालिकाको २५ लाख र अन्य सहयोग प्राप्त रकम गरी २६ लाख एक हजार रहेको प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पन्थले बताउनु भयो ।
मालारानी गाउँपालिकामा गाउँपालिकाको विपद कोषमा ६ लाख र कोरोना राहातमा जम्मा सहयोग रकम पाँच लाख ४१ हजार ५ सय २० गरी ११ लाख ४१ हजार ६ सय २० जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जानकारी दिनु भयो ।
छत्रदेव गाउपालिकाको विपद ब्यबस्थापन खातामा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग तथा कर्मचारी र जनप्रतिनिधिबाट भएको सहयोग गरी सात लाख ९१ हजार चार सय अठार रुपैया जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।

अन्य समाचारहरु