शितगंगा नगरपालिका लगायत अर्घाखाँचीभरका स्थानियतहले बाँढे राहत (पुर्ण विवरण सहित)

बिष्णु कुमार आले 
सितापुर,  अर्घाखाँची । अर्घाखाँचीको शितगंगा २ सितापुर अधेरीका लाल बहादुर थापा सरकारले राहत बितरण गर्छ भन्ने कुरा थाहा पाएर उनी बिहानै घरबाट हिडेर वडा कार्यालय पुगे । वडा कार्यालय पुगेको केही समयमा वडा सचिवले नाम बोलाएपछि उनले राहत बुझे । राहत बुझेपछि उनी निकै भावुक पनि भए र खुसी पनि । सरकारले दिएको राहतले कतिदिन धान्नसक्छ भन्ने संचारकर्मीको प्रश्नको जवाफ दिदै उनले निकै भावुक हुँदै भने के गर्नु दिन भर काम पाए बिहान बेलुकाको गाँस जुट्छ ,काम पाईएन भने भोकै बस्नु पर्ने हुन्छ । परिवार धेरै छौं कमाई गर्ने कोहि छैन सरकारले दिएको २५ किलो चामल आधापेट खाए पनि एक साता भन्दा बढिलाई नहुने उनले बताए । वडा नम्बर ४ का दिल बहादर बिकले ज्याला मजदुरीको काम गर्छन् । उनी घरबनाउने काम गर्छन् । काम गर्दा गर्दै देश लकडाउनमा गयो काम गरेको पैसा पनि पाईएन । समयमा खाध्यान्न्न जुटाउन सकिएन परिवार धेरै छ, अहिले परिवार पाल्नै गाह्राे भैरहेको बेला सरकारले दिएको २५ किलो चामल ,दाल तेल नुन लिन आएको छु ,गरिव भएपछि साहुले पताउदैनन् ,लकडाउन जति दिन बढ्छ त्यतिबेला सम्म यसैले पुराउने उनले बताए । विश्व भरि फैलिएको कोरोना कोभिड-१९ को जोखिमबाट बच्न देश लकडाउन भएको अवस्थामा बिहान बेलुका छाकको जोहो गर्न सास्ती भोगिरहेका अति बिपन्न श्रमिक असाय मजदुरहरूलाई शितगंगा नगरपालीकाले राहत बितरण गर्न सुरू गरेको छ ।
राहतको परिमाण र सख्या
दैनिकी ज्यालादारी काम गर्दै बिहान बेलुकाको गाँस जुटाउदै आएका यहाँका बिपन्न प्रति घरपरिवारलाई २५ किलो माला चामल ,२ किलो मसुराको दाल ,२ लिटर रौनक खाने तेल , २ केजी प्याकेट नुन नगरपालीकाले राहत बितरण गरेको हो । शितगंगाको वडा नम्बर २ सरस्वती माबि सितापुरमा ८१ जना, वडा नम्बर ३ को ठाडा दह सामुदायिक भवनमा ५२ जना, दक्सुपाटा निमाबिमा ३५ जना, वडा नम्बर ४ को सानादहमा १ सय जना,भेडामारेमा १ सय १५ जना र वडा नम्बर १३ को छाँप रिकोट , हिटनटोला, डोढुवा, कल्लेरी,लेख,भाटगाँउ ,गौरेपानी,प्रभाकर माबिमा १ सय ४७ जना गरि ५ सय ३० जनालाई शनिबार राहत बितरण गरिएको थियो । त्यसै गरि शितगंगा ५ को सुधा उच्च माबि जुकेनामा ३८ जना,वडा नम्बर ६ को खमारीमा २१ जना,देउरालीमा १७ जना र शिवाहदह माबिमा १२ जना गरि कुल ५० जना ,वडा नम्बर ८ मा ९४ जना , वडा नम्बर ९ मा १ सय ७२ जना , वडा नम्बर ११ मा कुल ५२ जना गरि ४ सय ६ जनालाई आईतबार राहत बितरण गरिएको छ । अहिले सम्म शितगंगाका ९ सय ३६ घरपरिवारले राहत पाएका छन् ।
नगरपालीकाको भनाई 
नेपाल सरकार मन्त्रीपरिषदद्वारा तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहतको मापदण्ड अनुसार नगरपालिकाले पहिलो चरणको राहत वितरण गरिएको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए । पहिला आफु सुरक्षित हुनु पर्छ । लकडाउन अझै बढेपनि अति गरिब बिपन्न परिवारमा राहतका प्याकेज ल्याएर नागरिकलाई भोकमरी बाट बचाउने नगर प्रमुख अधिकारीले बताएका छन् ।   सर्वपक्षीय भेला र वडाबाट सर्वसम्मत छनौटमा परेका दैनिक छाक छार्न समस्या भएका परिवारलाई राहत बितरण गरिएको उपप्रमुख टीका रेश्मीमगरले बताए । नगरमा खडा गरिएको प्रकोप व्यवस्थापन कोषमा नगरपालीकाले ८० लाख जम्मा गरेको छ । त्यस्तै नगर प्रमुखले ५१ हजार ,उपप्रमुखले १५ हजार,गाँउपालीका सदस्य तथा वडा अध्यक्षले १०/१० हजारका दरले कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। नेकपा शितगंगाका नगर कमिटीका नेता कार्यकर्ताबाट संकलन गरिएको २ लाख १ सय रूपिया नगर प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको नगर कमिटीका संयोजक वसन्त कुमार श्रेष्ठले बताए । सहयोग रकम संकलन कार्य जारी रहेकाले नगर प्रकोप व्यवस्थापन कोषमा नेकपाको रकम बढ्न सक्ने संयोजक श्रेष्ठको भनाई छ । त्यस्तै देउराली यातायात प्रालीले १ लाख १ हजार ,सुपादेउराली मन्दिर व्यवस्थापन समितीले १ लाख १ हजार , बराह बचत तथा ऋण सहकारी संस्था ठाडादहले २० हजार गरि ८४ लाख ७२ हजार खातामा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताए । घटि घटाउमा शितगंगा उधोग बाणिज्य संघका ब्यापारीहरू सँग समन्वय गरि राहत सामाग्री खरिद गरि बितरण गरिएको र घोषणा गरिएको २ लाख ८६ हजार खातामा आईनसकेको अधिकृत गौतमले बताए । गौतमले भने नगर प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा हुनेक्रम जारी रहेकाले विभिन्न संघ संस्था तथा ईच्छुक महानुभावले सो ईच्छाले आर्थिक सहयोग गर्न नगरले अपिल गरेको छ । ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरक्षक बाबुराम बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोली , रामबाण ठाडाका गुल्मपति ईश्वर काफ्लेको कमान्डमा रहेको १५ जनाको नेपाली सेनाको टोलि , संचारकर्मीहरू ,स्थानिय राजनितीक दलका कार्यकर्ता राहत बितरणमा जुटेका छन् ।
वडा अध्यक्षको भनाई
त्यस्तै शितगंगा वडा नम्बर १ ले आईतबार ८८ जनालाई राहत बितरण गर्न नगरमा सिफारिस पेश गरिएको वडा अध्यक्ष बुद्धिकृष्ण पौडेलले बताए । उता वडा नम्बर ७ मा राहत बितरणका लागि घरपरिवार छनौट गर्ने प्रक्रिया आईतबार बसेको सर्वदलीय बैठकले टुङ्गो लगाएको छ । वडामा बसेको सर्वदलीय बैठकले १ सय ८० जनालाई राहत उपलब्ध गराउन नगरपालीकामा सिफारिस गरिएको वडा अध्यक्ष मोहन पन्थीले बताए । सबै छनौट गरेर पठाएका नागरिकलाई नगरले संबोधन नगरे राहत नलिने पनि वडा अध्यक्ष पन्थीले बताए । नगरपालीकाकाे १४ ओटै वडाहरूमा गरि १५ सय ४९ जना बिपन्न घरपरिवारले राहत पाउने छन् । सर्वपक्षीय भेलाबाट अति विपन्न सूचीमा सिफारिस भए अनुसार राहत सामग्री वितरण गरिएको वडा नम्बर २ का वडा अध्यक्ष गोबर्धन थापाले बताए । केही पनि आयश्रोत नभएका बिहान बेलुका छाक टार्नै निकै मुस्किल भएका घरपरिवारलाई छनौट गरि पायक पर्ने टोल टोलमा राहत बितरण गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष हेमनाथ भुसालले बताए । त्यस्तै वडाको पायक पर्ने तीन स्थानबाट विपन्न परिवारलाई राहत बितरण गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रिषी रेश्मीमगरले बताए । दुर्गम पातलो वस्ती क्षेत्र भएकाले आफ्नै निजी ढुवानी खर्चिएर टोल टोलमा राहत सामाग्री पुराएर नागरिकको घरघरमै लगेर राहत बितरण गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष भिम केसीले बताए । उता वडा नम्बर ११ का विपन्न नागरिकलाई बिहान बेलुकाको छाकको जोहो गर्न कठिन भैरहेकाले नगरले दिएको राहतले उनिहरूलाई सहयोग पुगेको वडा अध्यक्ष कोपिलाचन्द आलेले बताए । लगडाउनले गर्दा काम गर्न नपाएर गाँसको जोहो गर्न नसकेका विपन्न नागरिक वडामा धेरै भएको वडा नम्बर ८ का वडा अध्यक्ष रूकेस आलेले बताए । स्थानिय सरकारले दिएको राहतले गरिव विपन्न नागरिक केही दिन भएपनि भोको पेट नरहने अध्यक्ष आलेले बताए । त्यस्तै वडा नं. ४ मा सानादह र भेडामारे स्थानबाट राहत वितरण भएको छ । वडा नं. ४ मा दैनिक ज्याला मजदुर गर्ने व्यक्तिहरू बढी रहेको वडा अध्यक्ष दामोदर अधिकारीले बताए । अध्यक्ष अधिकारीले भने सोही अनुसार अन्य वडाहरुमा भन्दा दोब्बर बढी विपन्न परिवारलाई राहत वितरण गरिएको छ । नगरपालीकाकाे १४ ओटै वडाहरूमा गरि १५ सय ४९ जना बिपन्न घरपरिवारले राहत पाउने छन् । नगरको वडा नम्बर १ , ७ , १२ र १४ मा राहत बिरतण गर्न बाँकी रहेको नगरपालीकाले जनाएको छ ।
अन्य स्थानियतहका प्रमुखहरूको भनाई
जिल्लामा ६ ओटा स्थानिय तह मध्ये भुमिकास्थान नगरपालीका , छत्रदेव गाँउपालीकाले राहत बितरण कार्य अझै शुरू गरेका छैनन् । सन्धिखर्क नगरपालीकाले सबै वडामा रहेका १४ सय ५६ जना विपन्न घरपरिबारमा परिवारको संख्या हेरेर १० देखि ३० किलो चामल , २ किलो दाल , २ / २ किलो नुन र तेल पहिलो चरणको राहत बितरण गरिएको नगर प्रमुख कमल प्रसाद भुसालले बताए ।
 नगर प्रकोप व्यवस्थापन कोषमा अहिले सम्म ४५ लाख जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले जानकारी दिए । त्यस्तै पाणिनी गाँउपालीकाले पनि पहिल‍ो चरणको सबै वडामा राहत सामाग्री वितरण गरेको छ । सबै वडाका ५ सय ९२ जना विपन्न परिवारका प्रति सदस्य सात किलो चामलका दरले ,तेल , दाल,आलु, नुन र साबुन बितरण गरिएको उपाध्यक्ष लक्ष्मी गौतमले बताईन् । 
त्यस्तै गाँउपालीकाको प्रकोप व्यवस्थापन कोषमा अहिले सम्म २७ लाख ६९ हजार रकम जम्मा भएको र कोषमा जम्मा हुने क्रम जारी रहेको उपाध्यक्ष गौतमले बताईन् । 
त्यसै गरि मालारानी गाँउपालीकाको ३/६/७ वडाका १ सय ३१ विपन्न घरपरिवारलाई राहत बितरण भएको छ अन्प वडाहरूमा पनि लगत्तै राहत बितरण गरिने गाँउपालीकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । विपत व्यवस्थापन कोषमा ४० लाख जम्मा गर्ने लक्ष्य अनुसार अगाडि बढेको अध्यक्ष आचार्यको भनाई छ ।

अन्य समाचारहरु