वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क, अर्घाखाँची । थर्मल गन बिग्रिएपछि सन्धिखर्क अस्पताल र डोहोटे हेल्थ डेस्कमा दस दिनदेखि यात्रु तथा बिरामीको तापक्रम जाँच्ने काम ठप्प छ ।
कपिलवस्तुबाट सन्धिखर्क–गोरुसिंगे सडक हुँदै जिल्ला भित्रिने यात्रुको स्वास्थ्य परीक्षण गर्न शीतगंगा नगरपालिका–१३ स्थित डोहोटेमा हेल्थ डेस्क राखिएको छ। त्यहाँ यात्रुको ज्वरो नापेपछि बल्ल जिल्ला भित्रिन दिइन्थ्यो। तर अहिले यहाँका दुइटै थर्मल गन बिग्रिएका छन्।
‘अहिले दैनिक १५/२० जना यात्रु हिँडेर जिल्ला भित्रिन्छन्, थर्मल गन बिग्रिएपछि कसैको जाँच भएको छैन,’ शीतगंगाका स्वास्थ्य प्रमुख कृष्ण पौडेलले भने।
भारतको सीमानाका कृष्णनगरबाट यात्रुहरू हिँडेरै जिल्ला आउने गरेका छन्। अर्घाखाँची–कपिलवस्तु सीमा पत्थरकोटदेखि करिब १० किमि अघिल्तिर राखिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी बसिरहेका छन्। ‘केही यात्रु स्वास्थ्य जाँच गरिदिन भन्दै डेस्कतिर आउँछन्, हामीले टाढैबाट यहाँ थर्मल गन छैन, फर्केर जानुस् भन्छौं,’ उनले भने, ‘थर्मोमिटरले तापक्रम नाप्दा स्वास्थ्यकर्मीलाई पनि जोखिम हुन्छ।’
शीतगंगा नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बुटवल, काठमाडौंबाट स्यानिटाइजर, मास्क किनेर ल्याए पनि थर्मल गन कतै नभेटिएको बताए। ‘प्रमुख जिल्ला अधिकारीलाई दैनिक फोन गरेर भन्दा हुन्छ–हुन्छ भन्छन् तर पहल भएन,’ उनले भने। यसअघि हेल्थ डेस्कमा तापक्रम बढी देखिएकालाई क्वारेन्टाइनमा पठाइने गरेको थियो।
सन्धिखर्क अस्पतालको थर्मल गन पनि बिग्रेको छ। कोरोनाका कारण बिरामीहरूको ज्वरो नाप्न जोखिम भएको अस्पतालप्रमुख डा. कपिल गौतमले बताए। ‘थर्मल गनले टाढैबाट नाप्न सकिन्थ्यो। तर थर्मोमिटरले त मान्छेको शरीर छुनैपर्छ,’ उनले भने, ‘अहिले एक बिरामीलाई एउटा थर्मोमिटर दिन्छौं, उनीहरूले आफैं शरीरमा राखेर हामीलाई दिन्छन्, अनि हामी तापक्रम हेर्छौं।’
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको आपूर्ति महाशाखासँग थर्मल गन मागे पनि अझै नपठाएको उनले बताए। ‘बुटवल, काठमाडौंमा किन्न पाइन्थ्यो, अहिले लकडाउनका बेला कतै पाइएन, हामीले धेरै कोसिस गर्यौं,’ उनले भने।