सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । हिजाे काठमाडौंबाट अर्घाखाँची घर फर्केका सन्धिखर्क, मालारानी र भूमिकास्थानबासीलाई दिउसो डोहोटेबाट सन्धिखर्क ल्याइ होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ ।
स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्ने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले निर्णय गरेपनि पुर्व जानकारी नहुँदा स्वास्थ्य चेक जाच गरेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइने योजना भएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले अर्घाखाँचीडट्कमलाई बताउनु भयो ।
यस्तै उनिहरुलाई आवश्यक परेमा भोली, पर्सी पुन: स्थानिय क्वारेन्टाइनमा राख्न सकिने आचार्यले बताउनुभयो ।
उता जिल्लाका छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका लगायतले काठमाडौंबाट आएका सबै मानिसहरूलाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयको अवज्ञा गरी सबैलाई घर – घर पठाएका छन् ।
पथरकोर्ट हुँदै आएका कयौ शितगंगा, भूमिकास्थान नगरपालिकाबासी पनि थर्मल गनले ज्वरो नापेपछि त्यहाँबाट हिंडेका थिए । पाल्पा हुँदै आएका छत्रदेव गाउँपालिकाका ३९ जनालाई घर पठाइएको छ । यस्तै पाणिनीमा पनि घर पठाइएको छ ।