मुक्तिनाथ भुसाल
सन्धिखर्क, अर्घाखाँची । कोरोना भाइरसका कारण विश्व यतिबेला संकटमा रहेको छ । संसारका धनी राष्ट्रहरूले समेत आफ्ना नागरिक जोगाउन नसकिरहेको अवस्थामा नेपालमा भयावह स्थिति हुने हो भने परिणाम के होला भन्ने विषयको चर्चा गरिरहनु नपर्ला । प्राणघातक महामारीबाट बच्न राज्यले लकडाउन भन्दै सर्वसाधरणलाई एकप्रकारको ‘सास्ती’ दिएको छ भने अर्कोतर्फ लकडाउन उल्लंघन बढ्ने क्रम पनि उत्तिकै देखिन्छ ।
विश्वव्यापी घटनाक्रमलाई हेर्दा ‘कोभिड–१९’ बाट सुरक्षित रहने सबैभन्दा उत्तम उपाय लकडाउन भए पनि यसलाई अनुशासित र मर्यादित तवरबाट कार्यान्वयन गराउने प्रमुख जिम्मा सरकारको हो । तर, यहाँ पहुँच हुनेलाई लकडाउनले खासै असर पार्दैन भन्ने कुरा यसपालि अर्घाखाँचीमा समेत प्रमाणित भएको छ ।
कोभिड १९ को लक्षण र अपनाउनु पर्ने सावधानीका बारेमा जे–जस्ता प्रचार गरिएको भए पनि मन असन्तुलित हुनु, घरमा बस्न नरुच्नु, प्रहरी देखे अनेकौँ बहाना बनाएर सडकमा लखर–लखर हिँड्नु, बिहान–साँझ साथीभाइसँग रमाउने इच्छा जागृत हुनु, कसैलाई सडकमा देखे जहाँको त्यहाँ व्यवस्थापन गर्नुको साटो अन्य जिल्लातर्फ पठाउन सक्रिय बन्नु, मानिस भिडभाड गरी राहत दिने नाममा आत्मप्रचारको कोशिसमा लाग्नु लगायत पनि कोरोनाका विपरीतार्थक लक्षणहरू हुन् भन्दा हास्यास्पद जस्तो लागे पनि अन्यथा नमानिएला ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री तथा धार्मिक स्वभावका नेता योगी आदित्यनाथले गत सोमबार आफ्ना पिताजीको देशावसान हुँदा पनि कोरोनाको महामारी र जारी लकडाउनलाई कारण देखाउँदै अन्त्येष्टिमा समेत सहभागी नहुने निर्णय लिए । यो घटनालाई नियाल्दा योगीको अस्वाभाविक व्यवहार मानिए पनि कोरोना भाइरसविरुद्धको लडाइँका लागि कतिसम्म त्याग गर्नुपर्दोरहेछ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।
नेपालको सन्दर्भमा सामान्य हुने–खाने भनौदाहरूले एउटा सार्वजनिक कार्यक्रममा दश हजारको राहत वितरण गरी सामाजिक सन्जाल रङ्गाउने र साँझपख ‘मैले ठूलै सेवा गरेँ नि’ भन्दै भट्टीपसलमा हजारौँ खर्च गर्ने संस्कार झयाङ्गिँदै गएको छ । राहत सामाग्री जोगाडको बहानामा दिनहुँ विभिन्न निकाय तथा नागरिकबाट स्थानीय सरकारको अलवा केन्द्रिय सरकारको विपद व्यवस्थापन कोषमा अर्बौं रकम जम्मा भइसकेको छ । यस्तो अवस्थामा कारणवश मुलुकभित्र मजदूरी गरी खाने र सीमा–नाकामा अलपत्र परेकाहरूलाई सरकारको इच्छाशक्ति हुने हो भने व्यवस्थापन गर्न कुनै समस्या देखिँदैन ।
भूकम्पपीडितका नाममा बाह्य समुदायबाट सहयोग प्राप्त भएको सामान्य त्रिपाल जस्ता सामग्रीमा समेत गिद्धेनजर लगाउने हाम्रा शासकहरूको व्यवहार परिवर्तन नहुँदासम्म विपतमा परेकाहरूको न्यायिक उद्धार हुने अपेक्षा गर्नु आफैलाई मुर्ख सावित गर्नु हो । लकडाउनका कारण ज्यालादारी गरी जीवन निर्वाह गरेका कतिपय नागरिक भोकैप्यासै हप्तादिनको पैदल यात्रामा घर पुगेका छन् भने कति त सीमानाकामा अलपत्र परेका छन् । सरकारको विपद कोषमा जम्मा भएको रकमले पैदल हिँडेका मजदुरलाई जहाँकोत्यहाँ र सिमानाकामा अलपत्र परेका नेपालीहरूलाई नेपालको भूमिमा तानेर त्यहीँ ठूलो टेन्ट खडा गरी व्यवस्थापन गर्न सक्ने सामर्थ्य सरकारसँग हुँदाहुँदै पनि त्यसतर्फ तदारुकता नदेखाउनु सरकारको अत्यन्त कमजार पक्ष र निकृष्टता हो ।
मुलुक अप्ठयारोमा परेको समय नागरिकको सुखदुःखमा साथ दिनुपर्ने तर्फ ध्यान दिनुको बदला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको अध्यादेशको भोलिपल्ट काठमाडौंबाट रातारात यात्रा गरी पाँचसय भन्दा बढी नागरिकहरू बुधबार (१० वैशाख) बिहान अर्घाखाँची भित्रिएका छन् । आफ्नो घरमा आउनु अपराध नभए पनि लकडाउनको विषम परिस्थितिमा जिल्लास्थित स्थानीय तह र प्रशासनलाई जानकारी नदिई अकस्मात ठूलो संख्यामा नागरिक पठाइदिने कार्यमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको मुख्य संलग्नता रहेको बुझियो । सरकारले घोषणा गरेको लकडाउनविरुद्धको रायमाझीको उक्त कार्यलाई ‘महान् कार्य गरे’ भन्दै उनका सहयात्री लीला जिसीले सामाजिक सन्जालमा प्रशंसा गरेका छन् । तर मुलुकको यतिबेलाको कोरोना–महामारीको भयाबह रुपलाई महसुस एवम् सही विश्लेषण गर्नेहरूले नेता रायमाझीको यस हर्कतलाई सोचसमझ बिना चालिएको लहडी चालको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरू जिल्लामा बलियो बन्ने संकेत देखेपछि युवाहरूको मन जित्न नेता रायमाझीले काठमाडौंबाटै लकडाउनलाई च्यालेन्ज गरेका हुन सक्ने जिल्लास्थित अनुभवी व्यक्तिहरूले कानेखुसीसमेत शुरु गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगामी निर्वाचनसम्म यथावत रहे वा नरहे पनि प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारीका लागि नेता रायमाझीले पूर्वएमालेका नेता तथा प्रदेशसभा सदस्य चेतनारायण आचार्यसँग आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । कारणवश नेकपा पार्टी फुट्यो र नेता रायमाझी केपी ओली पक्षधर बनेछन् भने जिल्लामा सांगठनिक रूपमा आचार्य नै शक्तिशाली बन्ने देखिन्छ । नेता आचार्य गुटको राजनीतिमा अब्बल र चतुर मानिन्छन् । तथापि, रायमाझीको लोकप्रियतालाई उछिन्न आचार्यले ठूलै मिहीनेत गर्नुपर्ने देखिन्छ । यो सबै बुझेका र विकासप्रेमी भनेर चिनिएका नेता रायमाझीले अगामी निर्वाचनलाई लक्षित गरी युवाहरूको मन जित्न लकडाउनलाई तोड्न सम्बन्धित राज्यको नुन खाएकाहरूलाई बाध्य बनाएको र अबको केही दिनभित्र नेपाल भारत सीमानामा अलपत्र परेका अर्घाखाँचीवासीहरूलाई समेत जिल्ला प्रवेश गराउने गरी योजनामा रहेको सुइँको प्राप्त भएको छ ।
जिल्लामा आएकाहरूलाई महामारीको रत्ति पनि असर नपरोस् भन्ने हेतुले यहाँका स्थानीय निकायहरूले जिम्मा लिएका छन् । यो समाचार तयार पार्दासम्म अर्घाखाँचीमा क्वारेन्टाइन बेड संख्या ४ सय ५८ र आइसोलेसन कक्ष १२ वटा भए पनि यसअघि नै ४७ जना क्वारेन्टाइनमा रहेका छन् । यसै विषयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलसँग जिज्ञासा राख्दा आफुले सामाजिक सन्जालमार्फत मंगलबार साँझ करिव ८ बजेतिर जानकारी पाएको र बुधबार बिहानै जिल्लाको प्रवेशद्धारमा गणना गर्दा ५ सय ३० जना जति रहेको जानकारी दिएका छन् ।
प्रजिअ पौडेलका अनुसार कसको माध्यमबाट उनीहरू अकस्मात जिल्लामा आउन सफल भए र कति जना बीच बाटोमा ओर्लिए भन्ने कुरातर्फ आफूले बुझ्न नचाहेको जवाफ दिए । पंक्तिकारलाई जानकारी भएअनुसार कोरोनाको संक्रमण रोक्न मुलुक लकडाउनमा गएसँगै उपत्यकाभित्र कसैलाई समस्या भए वा विहान साँझ जोहोको माध्यम गर्न कठिनाई भए सम्र्पकमा आउन नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केही दिनअगाडि एउटा समिति नै बनाएर प्रेस विज्ञप्ति जारी गरेका थिए । यसको साथै नेपाल कम्युनिष्ट पार्टी नेकपा काठमाडौंले पनि विभिन्न नेताहरूको मोबाइल नम्बरसहित उपत्यकाभित्र कोही–कसैलाई समस्या भए सिधा सम्पर्क गर्न र लकडाउनको पूर्ण पालना गर्न अपिल गरेको जगजाहेर रहेको छ ।