अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड ७ खाचिकोटको सुपादेउरालीबाट कैलाली जिल्लामा फर्किएका किशोरको पीसीआर टेष्ट नेगेटिभ आएको छ ।
उनको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा थ्रोट स्वाब पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ आएको हो ।
सन्धिखर्क नगरपालिका वार्ड नं. ७ सुपादेउरालीमा पुल निमार्ण गर्न आएका ५१ जना मध्ये ३७ जना वैशाख ९ गते मंगलबार घर फर्किएका कैलाली जिल्लाका मोहन्याल गाउँपालिका वार्ड नं.५ को कटौजेका १७ वर्षीय किशोरमा र्यापिड टेष्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखाएको थियो । यस्तै ति युवकसंगै फर्किएर कैलाली जिल्लाको महोन्याल प्राविको क्वारेन्टाईनमा रहेका ३६ जनाको रिर्पोट भने नेगेटिभ आएको छ ।
सुपादेउराली मन्दिर व्यवस्थापना समितीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार बाँकी अहिले १४ जना अहिले पनि सुपादेउरालीमा पुल निमार्ण कार्यमा छन् । उनिहरु १४ जना सुपादेउराली क्षेत्रको जंगलमा बस्दै आएका छन् ।
यसअघि सन्धिखर्क, शितगंगा नगरपालिकाका प्रतिनिधिहरुले उच्च जोखिम बढेको र पीसीआर टेष्ट पोजेटिभ आएमा सन्धिखर्कको खाचिकोट, शितगंगा नगरपालिकालाई सिल गर्नुपर्ने बताएका थिए । १४ जनालाई पनि क्वारेन्टाइनमा राखिने बताएका थिए ।
उता कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिह रावलले किशोरको एन्टीबडी पोजेटिभ देखाएपछि थ्रोट स्वाब संकलन गरी पीसीआर टेस्ट परीक्षणका लागि धनगढी पठाईएको र पीसीआर टेष्ट भने नेगेटिभ आएको बताए । ३७ जना एक दिन अगाडि सुपादेउरालीबाट सिदा घर गएका थिए ।
वैशाख ३ गते बुधवार शितागंगा नगरपालिका वार्ड नम्बर -२ सितापुरमा अलपत्र परेका १७ जना कामदारहरुलाई बाँके जिल्लाको कोहलपुर पठाइएको थियो । यस्तै गुल्मीमा मजदुरी गर्ने दाङ्गका ५ जनालाई पनि उद्धार गरिएको थियो। पाल्पा जिल्लाको रिडीदेखि पैदल गरी आएका १७ जना कामदारहरु सितापुरमा अलपत्र परेका थिए । १७ जना मध्ये ५ जना महिला थिए ।